Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

कांग्रेस महामन्त्री सिटौला पहिले ‘चेन स्मोकर’ भएको खुलासा

\"situala\"काठमाडाैं । तत्कालीन नेकपा माओवादी शान्तिप्रक्रियामा आउने भएपछि कांग्रेस नेता कृष्णप्रसाद सिटौला एकाएक चर्चामा आए । त्यतिवेलाका प्रधानमन्त्री तथा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले उनलाई विश्वास गरेर सरकारी वार्ताटोलीको संयोजक नै बनाए । वार्ताका दौरान माओवादी नेताहरूसँग निकै उठबस गरेका सिटौलामाथि पहिलो संविधानसभा चुनावताका आफ्नै पार्टीभित्रबाट ‘माओवादीपरस्त’को आरोपसमेत लाग्यो । यद्यपि, उनी चुनावमा माओवादीकै उम्मेदवारसँग पराजित भए । सिटौलाको व्यक्तिगत जीवनशैली मिडियामा कमै आएको छ । उनका बानी र स्वभावबारे पत्नी कविता सिटौलालाई नयाँ पत्रिकाका खगेन्द्र पन्तले १०१ प्रश्न सोधेका छन् : रक्सी/चुरोट १. केही अम्मल छ कि छैन ? अहँ, केही अम्मल छैन । २. चुरोट/खैनी कहिल्यै खानुभएन ? पहिला त चुरोट खानुहुन्थ्यो, पछि छाड्नुभएको । ३. त्यतिवेला दिनमा कति खानुहुन्थ्यो ? ए कुरै नगर्नुस्, ‘चेन स्मोकर’ भन्दा हुने । दिनमा दुई–तीन बट्टा सक्नुहुन्थ्यो । ४. तपार्इंले ‘नखानुस्, राम्रो होइन’ भनेर भन्नुहुन्थेन ? भनेँ होला । अहिले त छाडेकै धेरै वर्ष भइसक्यो, बिर्सिसकेँ । ५. कुन चुरोट खानुहुन्थ्यो ? याक हो सायद । ६. कति भयो छाडेको ? २९–३० वर्षजति भयो छाडेको । ७. कसरी छाड्नुभयो नि ? ‘चुरोट खानु ठीक होइन’ भन्ने उहाँलाई थाहा नै थियो । साथीभाइको संगतले खानुभयो । पछि फ्याट्टै छाड्नुभयो । ८. रक्सी कहिल्यै खानुभएन ? हाम्रो बिहे भएदेखि खाएको मलाई थाहा छैन । त्यसभन्दा अगाडि खाएको भए मलाई थाहा हुने कुरा भएन । ९. सांसद, मन्त्री हुनुभयो, पार्टीको महामन्त्री हुनुहुन्छ । कतिपय शुभचिन्तकले उहाँलाई रक्सी उपहार पनि दिँदा हुन् नि । त्यो रक्सीचाहिँ के गर्नुहुन्छ ? उपहारमा आउँछ । उहाँ खानुहुन्न, साथीभाइलाई बाँड्नुहुन्छ । खाना/खाजा १०. बिहानको खाजामा के लिनुहुन्छ ? पहिला त सातु खानुहुन्थ्यो । अचेल ओट्स र फलफूल खानुहुन्छ । ११. खानामा के मन पराउनुहुन्छ ? दुईवटा रोटी, दाल, तरकारी खानुहुन्छ । १२. दिउँसो खाजा के खानुहुन्छ ? भेज सुप, चिउरा–तरकारीहरू खानुहुन्छ । १३. रातिको खानामा के रुचाउनुहुन्छ ? दाल, भात, तरकारी । सामान्य खाना मन पर्छ । १४. माछामासु खानुहुन्न ? खानुहुन्न । माछामासु मात्रै होइन, लसुन–प्याज केही पनि खाँदैनौँ हामी । १५. किन नि ? हामी ठाकुरजीका अनुयायी हौँ । शुद्ध भेज खाना मात्रै खान्छौँ । १६. माछामासु कहिल्यै खानुभएन ? पहिला त खानुहुन्थ्यो । माछामासुको निकै सौखिन पनि हो, छाक नबिराई खानुहुन्थ्यो । छाडेको २९–३० वर्ष भयो । १७. खानामा कमेन्ट कत्तिको गर्नुहुन्छ ? गर्नुहुन्छ कहिलेकाहीँ । ‘आज खाना एकदम मीठो खुवायौ’ भन्नुहुन्छ । सेलाएको खाना मन पर्दैन, एकदम तात्तातो खाना मन पर्छ उहाँलाई । १८. कसले पकाएको एकदम मीठो मान्नुहुन्छ ? सबैले पकाएको मीठो नै मान्नुहुन्छ । मलाई ‘तिमी पकाऊ न’ भन्नुहुन्छ । खाना–खाजाको आफ्नै मेनु हुन्छ । उहाँले भनेअनुसार नै हामी बनाउँछौँ, गुनासोको मौका नै दिँदैनौँ । १९. किचनमा पसेर आफँै काम गर्न कत्तिको रुचि देखाउनुहुन्छ ? फुर्सद हुँदा पस्नुहुन्छ । पकाउन नआए पनि ‘यसो–यसो गर’, ‘यो यसरी पकाउन हुन्छ’ भनेर आइडिया दिनुहुन्छ । कहिलेकाहीँ डाडु समातेर तरकारी चलाउनुहुन्छ । २०. पकाउन केही पनि आउँदैन ? आउँदैन । हाम्रो बिहे भएदेखि उहाँलाई पकाउन दिएकै छैनौँ, फुर्सद पनि हँुदैन । त्यसभन्दा पहिला पकाउनुहुन्थ्यो होला । २१. भनेपछि उहाँले पकाएको तपार्इंले अहिलेसम्म खानुभएको छैन ? छैन । सुत्ने/उठ्ने २२. कति बजे उठ्नुहुन्छ ? हेरी–हेरी हुन्छ । राति अबेर सुत्नुभएको छ भने बिहान केही ढिलोसम्म सुत्नुहुन्छ । नत्र, सामान्यतया बिहान ५ बजे उठिसक्नुहुन्छ । २३. चिया/कफी के रुचाउनुहुन्छ ? बिहान नित्यकर्म गरेर भगवान्लाई अर्पण गर्नुहुन्छ । त्यसपछि चार गिलास तातोपानी खानुहुन्छ । अनि, गुरुजीले दिनुभएको ‘गोल ताप्रे’ जडीबुटी खानुहुन्छ । त्यसपछि मात्रै कालो चिया खानुहुन्छ । २४. एक्सरसाइज गर्नुहुन्छ कि गर्नुहुन्न ? पहिला–पहिला त मर्निङवाक नै गर्नुहुन्थ्यो । अचेल बाहिर निस्कने समय नै पाउनुहुन्न । त्यही भएर मैले कुद्ने मेसिन (ट्रेड मिल) ल्याइदिएकी छु । आधा घन्टा त्यसमा कुद्नुहुन्छ । २५. योगा गर्नुहुन्छ कि गर्नुहुन्न ? गर्नुहुन्छ । तर, नियमित हुँदैन । २६. साँझमा पनि एक्सरसाइज गर्नुहुन्छ कि ? भ्याउँदै भ्याउनुहुन्न । २७. राति कतिखेर सुत्नुहुन्छ ? काम छ, पढ्नुपर्नेछ भने कहिले दुई–तीन बजेसम्म पनि बस्नुहुन्छ । नत्र, सामान्यतया ११ बजेभित्र सुतिसक्नुहुन्छ । २८. घरमा बस्दा कस्ता लुगा लगाउन मन पराउनुहुन्छ ? मौसम हेरेर हुन्छ । अचेल जाडोको मौसममा ट्रयाक–सुट लगाउनुहुन्छ । गर्मीमा सेतो कुर्ता–पाइजामा लगाउन मन पराउनुहुन्छ । सिनेमा/गीत–संगीत २९. सिनेमा हेर्न कत्तिको रुचि देखाउनुहुन्छ ? हेर्नुहुन्छ, फुर्सद हुँदा । हामीले टेलिभिजनमा हेरिरहेका वेला पुग्नुभयो भने हेर्नुहुन्छ । ३०. कस्ता फिल्म रुचाउनुहुन्छ ? उहाँलाई एकदमै मन पर्ने एक्सन मुभीहरू हो । त्यस्तो सिनेमा रहेछ भने टेलिभिजनमा पूरै हेर्नुहुन्छ । ३१. दुईजना भएर हलमा सिनेमा हेर्नुभएको छ कि छैन ? धेरैपहिला झापामै हेरेका छौँ एक–दुईवटा । अचेल सिनेमा हेर्नकै लागि भनेर हलमा गएका छैनौँ । ३२. कुन–कुन सिनेमा हेर्नुभएको थियो ? हिन्दी सिनेमाहरू हुन् । एउटा ‘निगाह’ र अर्को ‘सिलसिला’ भन्ने हो । ३३. अचेल हलमा गएर किन हेर्न छाड्नुभएको त ? फुर्सद हुँदैन । फेरि पनि च्यारिटी सोलगायतमा कसैले निम्तो गरेका छन् भने जान्छौँ । ‘झोला’ सिनेमा दुवैले छुट्टाछुट्टै गएर हेर्‍यौँ । ३४. टेलिभिजनमा सिरियल कत्तिको हेर्नुहुन्छ ? सिरियल त हेर्नुहुन्न । फुर्सद नै हुँदैन । ३५. गीत–संगीतमा कत्तिको रुचि छ ? रुचि त छ, तर त्यति धेरै सुन्नुहुन्न । बरु, भजनहरू सुन्नुहुन्छ । सत्संगहरूमा जाँदा बडो रस लिएर सुन्नुहुन्छ, आफू पनि गाउनुहुन्छ । विदेश घुमघाम ३६. विदेश जाँदा तपाईंलाई पनि सँगै लिएर जान रुचि देखाउनुहुन्छ कि हुन्न ? देखाउनुहुन्छ । तर, उहाँ भारतबाहेक अन्त कहीँ पनि जानुभएको छैन । भारतलाई के विदेश भन्नु ? ३७. भारत त सँगै लग्नुभएको छ नि ? लग्नुभयो । भारत त कम्तीमा वर्षको एकपटक जानुहुन्छ । रेस्टुरेन्ट ३८. तपाईंलाई खाना/खाजा खुवाउन रेस्टुरेन्टतिर कत्तिको लैजानुहुन्छ ? लैजानुहुन्छ कहिलेकाहीँ । त्यस्तो रुचि छ । तर, अचेल फुर्सद नै हुँदैन उहाँलाई । ३९. रेस्टुरेन्टहरूतिर जाँदा के खान रुचाउनुहुन्छ ? झानेको दाललगायतका भेज आइटमहरू । ४०. कस्तो ठाउँ जान मन पराउनुहुन्छ ? बढी होहल्ला नहुने, शान्त ठाउँ मन पराउनुहुन्छ । ४१. तपाईंलाई प्राय: लैजाने कुन रेस्टुरेन्ट हो ? यही भन्ने छैन । डेरामा बसिरहेका छौँ । डेरा सरेर कहिले यो ठाउँ त कहिले अर्को ठाउँ बसिरहेका हुन्छौँ । जता बसिन्छ, त्यतैको नजिकतिर जान्छौँ । उहाँ ठूलाभन्दा सामान्य रेस्टुरेन्ट मन पराउनुहुन्छ । मर्निङवाकबाट फर्किंदा पनि सडक–किनारका स–साना चियापसलमा साथीभाइसँग बसेर चिया खाँदै गफ गर्न रुचाउनुहुन्छ । परिवारसागको सम्बन्ध ४२. परिवारलाई कति समय दिनुहुन्छ ? दिनुहुन्छ फुर्सद हुँदा । तर, समय नै हुँदैन । बिहान ६ बजे नै मान्छेहरू आइसकेका हुन्छन् भेटघाटका लागि । ४३. ‘हाम्रा लागि पनि समय निकाल्नुस्’ भनेर गुनासो गर्नुहुन्न तपार्इं ? गुनासो त गर्दिनँ, तर भन्छु । ‘शनिबार त घरमा बसिदिए हुन्थ्यो’ भन्ने लाग्छ । उहाँको व्यस्तता हामीले बुझेका पनि छौँ । ४४. कतिवेला दिनुहुन्छ परिवारलाई समय ? त्यही त हो नि साँझ–बिहान । हाम्रो बिहे भएदेखि नै राजनीतिमा सक्रिय हुनुहुन्छ, त्यतिवेलादेखि उहाँको व्यस्तता थाहा छ । ४५. परिवारसँग बसेका वेला कस्ता गफगाफ हुन्छन् ? सबै खालका कुराकानी हुन्छन् । ४६. राजनीतिक गफ कति गर्नुहुन्छ ? राजनीतिक परिवारमा राजनीतिका गफ त भइहाल्छन् नि । ४७. आफूले थाहा पाएका राजनीतिक कुरा तपार्इंसँग कति खुलेर सेयर गर्नुहुन्छ ? बताउनुहुन्छ । आफँै पनि बताउनुहुन्छ, मैले सोधँे भने पनि बताउनुहुन्छ । तर, मलाई नै रिपोर्टिङ गर्ने हिसाबले भने भन्नुहुन्न । ४८. कतिपल्ट मन्त्री हुनुभयो ? दुईपल्ट हुनुभयो । ४९. मन्त्राणी हुनु र नहुनुमा के फरक छ ? खासै फरक छैन । हामीकहाँ आउने सबै मान्छे बुझ्झकी हुन्छन्, गुनासाहरू धेरै हुन्नन् । लुगा/पहिरन ५०. आफूले लगाउने लुगामा कत्तिको सचेत हुनुहुन्छ ? एकदमै सचेत हुनुहुन्छ । सफा चिटिक्कको लुगा लगाउन मन पराउनुहुन्छ । आज लगाएको लुगा भोलिपल्ट लगाउनुहुन्न । ५१. के लगाउन रुचाउनुहुन्छ ? पाइन्ट–सर्ट मन पराउनुहुन्छ । ५२. लुगामा आइरन गर्न जान्नुहुन्छ कि जान्नुहुन्न ? गर्नुहुन्न । हामी नै गरिदिन्छौँ, उहाँले भ्याउनुहुन्न । त्यसैले आउँदैनजस्तो लाग्छ । ५३. उहाँले आफैँ लुगामा आइरन गरेको देख्नुभएको छैन ? छैन । हामी नै गरिदिन्छौँ । बरु, आइरन नगरेकै लुगा लगाउनुहुन्छ । ५४. आफ्ना लागि लुगा किन्न पसलसम्म आफँै जानुहुन्छ कि अरूले किनिदिनुपर्छ ? म नै किनिदिन्छु, आफँै जानुहुन्न । ५५. तपाईंले ल्याइदिएको लुगामा कमेन्ट गर्नुहुन्न ? उहाँलाई मन पर्ने लुगा नै ल्याइएका हुन्छौँ, कहिलेकाहीँ ‘यो भएन, यस्तो ल्याऊ न’ भनेर सामान्य कमेन्ट गर्नुहुन्छ । तलब ५६. आफ्नो तलब तपाईंलाई दिनुहुन्छ कि आफैँ राख्नुहुन्छ ? आफैँले राखेर त कसरी भयो र ? मलाई नै दिनुहुन्छ । ५७. उहाँलाई चाहियो भने नि ? म नै दिन्छु । उहाँलाई चाहिने पैसा म पर्समा राखिदिन्छु । ५८. तपार्इंले कतिजति दिने गर्नुहुन्छ ? काम हेरी–हेरी हुन्छ । सामान्य रूपमा तीन–चार हजार लग्नुहुन्छ । अरू केही काम छ भने अझ बढी लग्नुहुन्छ । ५९. उहाँको खर्च केमा हुन्छ ? खासै खर्च हुँदैन । बाहिर प्राय: खाजा खानुहुन्न । गाडीमा तेल हाल्न हो, उहाँले खर्च गर्ने । ६०. पैसाको बारेमा परिवारमा कहिल्यै किचलो भएको छ कि छैन ? छैन । हामी मितव्ययी छौँ । म पनि जागिर गर्छु । माछामासु, लसुन–प्याज केही खाँदैनौँ । पैसाको कुरामा हाम्रो किचलो हुन्न । धर्म/आस्था ६१. अत्यन्त धार्मिक हुनुहुन्छ नि ? हो । श्री श्री अनुकूलचन्द्र चक्रवर्तीको शिष्य हो । उहाँको एकदमै भक्त हुनुहुन्छ । ६२. कहिलेदेखि लाग्नुभएको त्यसमा ? ०३७ सालदेखि । मेरो बिहे भएदेखि नै हो । म पहिलादेखि नै त्यसमा लागेकी थिएँ, मेरो संगतले पछि उहाँ पनि लाग्नुभयो । ६३. उहाँ त वेला–वेला प्रवचन पनि दिनुहुन्छ हैन ? प्रवचनभन्दा पनि ‘इष्ट प्रसंग’ हो । अर्थात् इष्टका बारेमा चर्चा गरेको, आफ्ना कुरा राखेको हो । ६४. राजनीति र धर्मका लागि समय कसरी ‘म्यानेज‘ गर्नुभएको छ ? धर्ममा पूरै लाग्ने होइन । समय त मिलाइहाल्नुहुन्छ । ६५. नेताका रूपमा भाषण राम्रो दिनुहुन्छ कि र ठाकुरजीको शिष्यका रूपमा इष्ट प्रसंग राम्रो सुनाउनुहुन्छ ? दुवैमा उत्तिकै राम्रो हुनुहुन्छ । अध्यात्ममा पनि उहाँको उत्तिकै दख्खल छ । मान्छेहरूले उहाँबाट अध्यात्मको राम्रो ज्ञान लिन सक्छन् । राजनीतिका बारेमा त दुनियाँलाई जगजाहेर नै छ, मैले भनिराख्नु नै परेन । ६६. राजनीतिमा मान्छेलाई बढी प्रभावित गर्न सक्नुहुन्छ कि धर्ममा ? दुवैतिर उत्तिकै प्रभाव राख्न सक्नुहुन्छ । ६७. त्यसो हुँदो हो त कांग्रेसजत्तिकै ठूलो संगठन हुन्थ्यो होला नि ? धर्ममा समय दिन भ्याउनुभएको छैन, समय दिन सक्नुभयो भने उहाँमा ‘कन्भिन्सिङ क्यापासिटी’ छ । ६८. भनेपछि धर्ममा पनि समय दिनुभयो भने कांग्रेसजत्तिकै मान्छेलाई संगठित बनाउन सक्नुहुन्छ ? समय दिएर लाग्नुभयो भने सक्नुहुन्छ । ६९. पुस्तक पढ्ने बानी कत्तिको छ ? पढ्नुहुन्छ । धार्मिक पुस्तक धेरै पढ्नुहुन्छ । गुरुका पुस्तक पढ्दा एउटै शब्दमा आधा घन्टासम्म घोत्लिनुहुन्छ । रस पाउनुहुन्छ, गजबको रहस्य पाउनुहुन्छ । ७०. कस्तो रस पाउनुहुन्छ नि ? ठाकुरले जीवन जिउने बाटो देखाउनुहुन्छ, सजिलो गरी जीवनको गन्तव्य पार गर्न सक्छौँ । ७१. नेताका लागि त जनता नै सर्वोपरी होइनन् र ? जनताभन्दा पनि ठूला ठाकुरजी कसरी भए ? धर्मविना त जनतालाई पनि डोर्‍याउन सकिँदैन नि । अनैतिक मान्छेले जनता र समाजलाई कस्तो नेतृत्व दिन्छ ? जनतामै भगवान्को बास हुन्छ नि । रिसाउने र खुसी हुने ७२. रिसाउने बानी कत्तिको छ ? छैन । उहाँ त रिसाउनु नै हुन्न । ७३. कहिल्यै पनि रिसाउनुहुन्न ? अहँ, कहिल्यै रिसाउनुहुन्न । एकदम समझदार हुनुहुन्छ । उहाँ रिसाएको मलाई याद नै छैन । ७४. अनि, तपार्इं कत्तिको रिसाउनुहुन्छ ? बरु, वेला–वेलामा मचाहिँ रिसाउँछु । ७५. रिसायो भनेर उहाँको तपार्इंसित गुनासो हुन्छ होला नि ? हुन्छ नि । ‘किन रिसाएको, यसरी नरिसाऊ न’ भन्नुहुन्छ । म पनि ‘अबदेखि रिसाउँदिनँ’ भन्छु । ७६. तपार्इं रिसाउनुभयो भने के गर्नुहुन्छ ? एकछिन कराउँछु । म रिसाउँदा उहाँ दु:खी बन्नुहुन्छ । ७७. अनि, तपार्इंलाई कसरी फकाउनुहुन्छ ? फकाउनुपर्ने गरी त म कहिल्यै रिसाउँदिनँ । उहाँ आफैँले ‘सरी’ भन्नुहुन्छ, सकिन्छ । ७८. अरूको रिस घरमा कत्तिको ‘रिफ्ल्याक्ट’ हुन्छ ? हुँदैन । बाहिरको रिस घरमा कहिल्यै देखाउनुहुन्न । गुरुको अनुयायी भएर पनि होला, उहाँलाई रिस नै उठ्दैन । ७९. गुरुको शिष्य भएका कारण उहाँमा नरिसाउने, राम्रो मात्रै गुण भरिएकोजस्तो लाग्छ तपार्इंलाई ? हो नि । केही न केही त मान्छेमा परिवर्तन भइहाल्छ नि । उहाँ त देवतुल्य हुनुहुन्छ । उहाँमा खोट देखाउन मान्छेलाई गाह्रै पर्छ । ८०. छोराछोरीहरूलाई गाली गर्नुहुन्छ कि गर्नुहुन्न ? अहँ, गर्नुहुन्न । सम्झाउनुहुन्छ, माया गर्नुहुन्छ । गाली गर्नुहुन्न । ८१. रिसले वा मायाले तपाईंलाई कहिल्यै पिट्नुभएको छ ? छैन । ८२. तपाईंले माया गरेर उहाँलाई के सम्बोधन गर्नुहुन्छ ? ‘बाबा’ भन्छु । ८३. तपार्इंलाई के भनेर बोलाउनुहुन्छ ? मेरै नामले ‘कविता’ भनेर बोलाउनुहुन्छ । पार्टी/राजनीति ८४. तपाईंसँग राजनीतिक सल्लाह कत्तिको गर्नुहुन्छ ? उहाँजत्तिको मान्छेलाई मैले के सल्लाह दिनु र ? तर, कहिलेकाहीँ आफूलाई लागेका कुराहरू भन्छु । ८५. महाधिवेशन आउँदै छ, उहाँले गुट फेर्ने तयारी गरिरहेको चर्चा छ नि ? त्यो त हल्ला मात्रै हो । उहाँले खेमा ‘चेन्ज’ गर्नुभन्दा त राजनीति छाड्नुहुन्छ । ८६. अहिले महामन्त्री हुनुहुन्छ, आगामी महाधिवेशनमा कुन पदको दाबेदार हो ? त्यस्तो सल्लाह नै त केही गर्नुभएको छैन, घोषणा पनि गर्नुभएको छैन । तर, महामन्त्री भइसकेपछि अब स्वाभाविक रूपमा त्योभन्दा माथिल्लो पदमा रुचि होला । ८७. पार्टीभित्र उहाँले सबैभन्दा मन पराउने नेता को हो ? बिपीपछि गिरिजाप्रसाद कोइरालालाई धेरै मन पराउनुहुन्छ । गिरिजाबाबुले पनि उहाँलाई विश्वास गर्नुहुन्थ्यो । अहिले सुशील कोइरालालाई पनि सम्मान गर्नुहुन्छ, माया गर्नुहुन्छ । सहयोगी ८८. सहयोगी कत्तिको हुनुहुन्छ ? एकदमै सहयोगी हुनुहुन्छ । घरमा बहिनीहरू नहुँदा ‘दुईजना मिलेर गरौँ, म तिमीलाई सघाउँछु’ भन्नुहुन्छ । ८९. पार्टीका कार्यकर्तालाई कत्तिको सहयोग गर्नुहुन्छ ? सेवक नै हुनुहुन्छ । आफ्नो ‘पोजिसन’ले भ्याएको, क्षमताले भ्याएको सेवा गर्नुहुन्छ । सहयोगी र मायालु स्वभाव छ । दु:खी र खुसी ९०. कस्ता कुरामा खुसी मान्नुहुन्छ ? आफूले सोचेका कुराहरू पूरा हुँदा त्यसै मान्छेहरू खुसी भइहाल्छन् । अझ उहाँ पूजापाठमा आनन्द मान्नुहुन्छ । मैले भगवान्को कुरा गर्दा, गुरुको कुरा गर्दा एकदम खुसी मान्नुहुन्छ । ९१. दुईजना बसेर पूजापाठ, धर्म र गुरुका बारेमा कत्तिको कुरा गर्नुहुन्छ ? एकदम गर्छौँ । राजनीतिको भन्दा पनि गुरुको धेरै कुरा गर्छौँ । उहाँ धेरै बुझ्नुहुन्छ, उहाँ एकदम धेरै ठूलो भक्त हुनुहुन्छ । ९२. कहिलेकाहीँ तपार्इंलाई उहाँ राजनीतिभन्दा धार्मिक काममा ‘फिट’ हुने मान्छे होजस्तो लाग्दैन ? धर्म र राजनीति त सँगसँगै जाने चिज हो नि । हाम्रो गुरुले ‘इष्ट नही जिस नेताका, यम दलाल हि समझो उसको’ भन्नुहुन्छ । अर्थात्, आदर्शविहीन नेता यमराजको दूत हो । नेताका पछाडि त धेरै कार्यकर्ता हुन्छन् । आदर्शविनाको नेता आफू पनि डुब्छ, अरूलाई पनि डुबाउँछ । उपहार ९३. तपाईंलाई उपहार कत्तिको दिनुहुन्छ ? दिनुहुन्छ कहिलेकाहीँ । ९४. कस्ता चिजहरू दिनुहुन्छ ? लुगाहरू । ९५. उहाँले तपाईंलाई दिएको सबैभन्दा मन परेको उपहार कुन हो ? धेरैपहिला हो, साडी ल्याइदिनुभएको थियो । सुगा कलरको त्यो साडी मलाई निकै मन परेको थियो, अहिले पनि सम्झिन्छु । ९६. जन्मदिन, म्यारिज एनिभर्सरीमा ‘विस’ गर्नुहुन्छ कि बिर्सिनुहुन्छ ? यादै हुन्न उहाँलाई । आफ्नै जन्मदिन त बिर्सिनुहुन्छ । ९७. तपाईं त बिर्सिनुहुन्न ? म त बिर्सिन्नँ । जिद्दी ९८. उहाँको जिद्दी गर्ने स्वभाव कत्तिको छ ? छैन गर्नुहुन्न । सम्झाउँदा मान्नुहुन्छ । ९९. जिद्दी कहिल्यै गर्नुहुन्न ? एकदम बुझ्झकी हुनुहुन्छ, कुनै कुरामा अडान लिएर बस्नुहुन्न । १००. भनेपछि जिद्दी पनि तपाईंले नै बढी गर्नुहुन्छ ? तर, नचाहिँदो कुरामा त गर्दिनँ । जेहोस्, हाम्रो आपसी समझदारी छ । १०१. रमाइलो, ठट्टा गर्ने बानी कत्तिको छ ? गर्नुहुन्छ नि । ताल परे नाच्नुहुन्छ । हामी नचाउँछौँ, अस्ति तिजमा धेरै नाच्नुभयो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE