मूलतः उनलाई यो घडी अर्चना गर्नका निम्ति असहज हुने कुरा सम्बन्धित मूल पुजारी र सुरक्षा सम्बद्ध निकायले पनि पूर्व जानकारी गराएका कुरा सञ्चारमाध्यममा आएका छन् ।समाजलाई सङ्कुचित परिधिमा सीमित गर्ने दरिद्र मानसिकता बोकेकाहरुले नेतृत्व गरेकै कारण बोक्सीको आरोपमा निर्दोष आमाहरुले रोजिन्दा दिसा खानु परेको, दहेजको असन्तुष्टिमा असङ्ख्य बहुहरुले ज्यूँदै जल्नुपरेको र सिनो खान आनाकानी गरेकै कारण कैयन् दलितहरु लखेटिनु परेको जस्ता घृणित कर्महरु दिनानुदिन भएको जगजाहेर नै छ । अझ बढी भन्ने हो भने हरखाले पूर्वाधार उपलब्ध हुँदासमेत मधेश यति धेरै पिछडिनुको कारकतत्व कुनै चुच्चे नाक भएको खस शासक भन्दा बेसी त्यहीँ युगौं बसोबास गर्दै आएका रैथाने जमिन्दार हुन् भनेर तराईका अपठित, पेलिएका, हेपिएका आम मधेशवासी दाजुभाइ, दिदी बहिनीले बेलैमा बुझ्नु जरुरी छ । भलै सिङ्गो देश लुट्ने शासकमा खस, आर्य नभएको भने बिलकुल होइन, बहुसङ्ख्यक तराईवासीका निम्ति । सीमाना वारि र पारीका सामन्तहरुको अधिकार अक्षुण्ण राख्न र संविधान किञ्चित प्रगतिशील हुँदाखेरि खाईपाई आएको सुविधाबाट वञ्चित भइएला भन्ने भय बेसी हो युगौं सोझासाझा मधेशी लुटेका फटाहाहरुको । अन्यथा वर्षौंदेखि पीँधमा पारिएका बहुसङ्ख्यक निरीह मधेशीका निम्ति जमिनको समान वितरण, वैज्ञानिक भूमिसुधार, छुवाछूतलगायत सामाजिक विभेदको अन्त्य, महिला अधिकारको प्रत्याभूति, बालअधिकारको सुनिश्चितता जस्ता दर्जनौं मुद्दाहरुलाई प्राथमिकतामा राखेर उठाइन्थ्यो आन्दोलन न कि फलानो जिल्ला मधेशलाई नभइ हुन्न; टाउका गनेर हामीलाई अनन्तकालसम्म लुट्न दिनुपर्छ; पारिबाट वारि आई नागरिकता नामक चिर्कटो पाउनासाथ राष्ट्रप्रमुख बन्न पाउनुपर्छ जस्ता मुद्दाहरुले मात्र महत्व पाउँदैनथे । त्यतिमात्र नभई यो आन्दोलनकै सिलसिलामा समेत मोर्चाका कार्यकर्ताले मात्र तेल, ग्यास तस्करी गर्न पाउने र अरुले गरे तिनका सवारी ठाउँ कुठाउँ खरानी पारिँदैनथे होला ।
सीमाना वारि र पारीका सामन्तहरुको अधिकार अक्षुण्ण राख्न र संविधान किञ्चित प्रगतिशील हुँदाखेरि खाईपाई आएको सुविधाबाट वञ्चित भइएला भन्ने भय बेसी हो युगौं सोझासाझा मधेशी लुटेका फटाहाहरुको ।अन्ततः राज्यले अहिले विभिन्न बहानामा जे जस्तो द्वन्द्व झेलेको छ त्यो कुनै पनि मानेमा मनासिव छैन । अनुदारवादी शासनसत्ताले जसरी भोको पेटलाई अन्धराष्ट्रवादको गाना गाउन लगाएको कुरा अनुचित छ त्यति नै अनुचित छ तिनलाई बदला लिने नाममा सारा नेपालीलाई यातना र सास्ती दिने जमिन्दारहरुको कथित मधेश आन्दोलन । जति अनुचित थियो राष्ट्रप्रमुखको जानकी मन्दिरमा उपासना मोह त्यति नै अनुचित थियो उनी फर्केपछिका क्षमापूजा, गोदान र गङ्गाजल ल्याएर मन्दिर चोख्याउने कुरीकुरी लाग्ने कर्म । जति अहङ्कारयुक्त देखिन्थ्यो राष्ट्रध्यक्षको वेतुकको तुजुक त्योभन्दा एकमासा पनि कम अहङ्कारयुक्त थिएन कथित मोर्चा कार्यकर्ताको राष्ट्राध्यक्षमाथि पत्थर र पेट्रोल बम वर्षा । समग्रमा यी तमाम गतिविधि नाकको आकार, छालाको वर्ण र बस्तीको भूगोलका आधारमा विभाजन बढाउने कर्म नै थिए जो दीर्घकालीन भूराजनीतिलाई समेत नराम्रो प्रभाव पार्ने खालका छन् । संयमता र टुट्न लागेका एकताको कडीलाई नरसाईकन अब हामीसँग अर्को विकल्प छैन भन्ने मनास्थिति विकास नगरीकन हामीलाई सुखै छैन । तसर्थ भावनाको एकीकरण गरांै, द्वेषको खेती होइन ।
प्रतिकृया लेख्नुहोस्: