दशैं वा त्यस्तै खाले पर्वहरुलाई मनाउँने प्रचलन पूर्णरुपले हटाउँदा मानव समाज यान्त्रिक, अव्यवहारिक, मनचिन्ते र ब्यक्तिवादी बन्नपुग्छ । यो यथार्थ सबैले मनन् गर्नुपर्छ । दशैं नै मात्र विकल्प पर्व हैन । मई १ को श्रमिक दिवसलाई प्रधान पर्व मान्ने र त्यो दिनका लागि सरकारले सबै श्रमिकहरुलाई दशैंमा झैं श्रमभत्ता भन्दै अतिरिक्त भत्ता दिने प्रचलन बन्यो भने त अझ राम्रो संदेश जान्थ्यो श्रमजीवीका पक्षमा ।कतिपय व्यक्तिहरुले महिषाशुर मिथक वर्ग विहिन समाजको समयको कुरा हो भन्ने गर्छन् तर तथ्यहरुले के देखाउँछ भने त्यो समय द्रव्य, सम्पत्ति,राज्य विस्तारसंग जोडिएको समयसन्दर्भ नै थियो । राजाको अस्तित्व सामन्तवादको विकासपछि भएको हुँदा स्वर्ग वा अरु कुनै लोकका राजाको सन्दर्भ उठ्नु वर्गविभाजित समाज भईसके पछिको कुरा हो । तसर्थ महिषाशुर तत्कालिन सर्वाहारा बर्गको प्रतिनिधी पात्र थियो भन्द अत्युक्ति हुन्न । दशैं अनि राम र रावणको कथा दशैंकै प्रसंगसँग राम र रावणको चर्चा पनि चल्ने गरेको छ । रामले युद्धमा जानुभन्दा पहिले नौदिनसम्म भगवति दुर्गाको पूजा गरेका थिए रे । रामकै समयमा पनि देवी दुर्गाको कथा किम्बदन्ती बनेको रहेछ भन्ने प्रमाण रामले गरेको पूजाले प्रष्ट पार्छ । नौदिनसम्म पूजा गरेपछि दशौंदिन पछिको प्रयासबाट रामले युद्ध जित्न सफल भएकोले यसलाई विजया दशमीको रुपमा मनाउँने चलन चलेको हो । यसै प्रसंगलाई केलाउँदा पनि हामी के निष्कर्षमा पुग्छौं भने यो राम भन्ने अयोध्याका राजा वा राजकुमारले रावण भन्ने लंकाको राजालाई जिते पछि खुसीयाली मनाउँने क्रममा बनेको परम्परा नै हो । यसको अर्थ फेरि पनि एउटा सामन्ती राजाले अर्को सामन्ती राजालाई हराएकोमा रमाईलो मनाएको मात्र हो । यो खुसीयाली गरीब र श्रमजीवी जनतालाई सुख दिएको अर्थमा कदापी हैन रहेछ बरु उस्तै चरित्र र उस्तै पृष्ठभूमी भएका एक राजाले अर्को राजालाई हराएकोमा सामन्ती राजा रामले मनाएको खुसीयाली मात्र हो विजया दशमी । तसर्थ दशैं मनाउँदा यस्ता धार्मिक अन्धतालाई बुझ्दै र परिमार्जन गर्दै मनाउँनु उचित हुन्छ ।
अन्य दानवहरु भन्दा महिषाशुर फरक पात्र हुन सक्छ । ऊ एउटा विद्रोही जनता थियो । उसले देवतागणको अत्याचारका विरुद्ध हलि गोठालाहरु, दासहरुलाई बटुलेर विद्रोह गरेको हुन सक्छ ।दशैं र नयाँ लुगा र मीठो खाना दशैं भन्ने वित्तिकै नयाँ लुगा लगाउँने र मीठो खाने दिवसको रुपमा आम जनताले बुझ्ने गरेको पाइन्छ । तर यथार्थ एकदमै अमिलो छ । नयाँ लुगा र मीठो खाना त केवल हुने खानेहरुको अधिनस्थ रहेको छ । हुँदा खाने सर्वाहारा गरीबहरुले न त रामले जितेको खुसियाली बाँडेर लाभ पाउँछन् न देवी दुर्गाको तपस्या गरेर नै पेट भर्न पाउँछन् । कथित देवतागणले विजय हासिल गरेको समयदेखि अहिलेसम्म उही देवताहरु र देवीहरुकै उपासकहरु त राज्यसत्तामा हावी भइरहेका छन् नि । तर प्रत्येक समय हजारौं गरीब श्रमजीवी मानिसहरु खान नपाएरै मरे अनि लाउँन नपाएरै बिते । देवताहरुका उत्तराधिकारीहरु चाँही दरबारमा ऐश आराम गरेर बसे । उनीहरु कहिले बिष्णुका अवतार भएर राज गरे त कहिले अवतार पुरुष बनेर । तसर्थ दशैंलाई नयाँ लुगा र मीठो खानाको प्रसंगसँग जोडने हो भने राज्यले लाखौं खानलाउँन नपाउनेहरुलाई त्यो दिन विशेष राहत कार्यक्रम ल्याउँनतिर हामीले दबाव दिनुपर्छ । हामी व्यक्तिहरुले पनि त्यो दिन फजुलको खर्च, जुवा, रक्सीसेवनमा खर्च गर्न भन्दा केहि मानिसहरु मिलेर खानलाउँन नपुग्ने हुम्ला, जुम्लाका जनताका निम्ति कोष खडा गर्ने र त्यसमा जम्मा गर्ने अभियान चलाउँदै साथमा रमाईलो पनि गर्ने प्रचलन थाल्ने हो भने मात्र दशैं एउटा पर्व बन्न सक्छ । दशैं र ठुलाबडाको आशिर्वाद ठुलाबडा भनेका गाउँका जमिन्दारहरु, सामन्त भूमीपतिहरु हैनन् । ठुलाबडा भनेका राजा र धनी पूँजीपति पनि हैनन् र ठुलाबडा भनेका राजनैतिक पार्टीका नेताहरु पनि हैनन् । ठुलाबडा भनेका ती मानिसहरु हुन् जो जनताका लागि त्याग गर्न तत्पर हुन्छन् । हामीले सार्वजनिक रुपमा आशिर्वाद लिने हो भने जनताका लागि आफ्नो सर्वस्व त्याग्ने त्यस्ता जनप्रेमीहरुसँग थाप्नुपर्छ । गाउँमा थोरै लगानी गरेर गाउँलेहरुबाट लाखौं हसुर्ने मुखिया, जमिन्दारहरु ठुलाबडा हैनन् र उनीहरुकोमा आशिष थापेर भाग्य राम्रो बन्दैन । आशिर्वाद भनेको फगत ः एउटा कामना हो । यो बाबुआमाले र उमेरमा आफूभन्दा बढी उमेरकाहरुले दिन सक्छन् । कसैले ज्ञानी भएस्, राम्रो पढेस्, बाबुआमाको सेवा गरेस् भनेर टाउकामा हात राख्छन भने यो भौतिकवादी दृष्टिकोणले पनि गलत मानिंदैन किनकी यो त कामना न हो । तसर्थ दशैंको सन्दर्भमा टाढा टाढा रहेका आफन्तहरु भेला हुने भएकाले त्यसबेला टीका लगाएर वा टाउकामा हात राखेर वा अरु नै कुनै प्रकृयाबाट आशिर्वाद लिनुदिनु आध्यात्मवादी बन्नु चैं हैन । बरु आशिर्वादका नाममा राजा भएस्, पुत्र प्राप्त भएस् (पुत्री प्राप्त भएस् त कसैले भन्दैन ),भन्सारमा जागिरे भएस्, देवीभक्त भएस् भन्ने जस्ता भ्रष्ट र भाग्यवादी बनाउँने खालका आशिर्वाद दिनेहरुलाई मुखभरीको जवाफ दिन भने हामीले हच्किनु हुँदैन । दशैं अनि टीका र मन्त्र आयु द्रोणसुते श्रृयंच दशरथे शत्रु क्षयं राघवे ऐश्वर्य नहुसे गतिश्च पवने मानंच दुर्र्योधने सौर्य सन्तनुवे बलंच हलधरे सत्यंच कुन्तिसुते बिज्ञानं विदुरे भवतु भवतां कृतिश्च नारायणे दशैंमा हाम्रा हजुरबुवादेखिका सबै मान्यजनले दिने यो आशिर्वाद आजको बैज्ञानिक युगमा कति सुहाउँदो छ ? हामीले विचार गर्नै पर्ने हो कि ! द्रोण दरबारका धनुर्बिद्या सिकाउँने गुरु हुन । एकलब्य आफ्ना दरबारीया शिशुहरु भन्दा तीब्र क्षमताका भएका कारण उनले एकलब्यको बुढी औंठा गुरु दक्षिणका नाममा लिएर अन्याय गरेका थिए । उनै दरबारिया द्रोणको कथित अजम्बरी भनिएको छोराकै जस्तो आयु किन भन्नु प¥यो ? दशरथ सामन्ती दरबारकै राजा हुन, उनकै जस्तो श्रृ होस् किन भन्नु ? राघव दरबारीया राजा हुन, उनकै जस्तो शत्रु नास होस् भन्नु किन ? नहुस पनि सामन्ती राजा, दुर्योधन सामन्ती राजा, सन्तनु पनि सामन्ती राजा, हलधर ( बलराम) पनि सामन्ती घरकै सन्तान, कुन्ति र उनका पुत्र पनि दरबारीया सामन्तहरु नै, बिदुर दरबारकै मान्छे , नारायण त अझ ऐश आरामका साथ दरबार भन्दा सुखद जीवन जीउँने काल्पनिक भगवान । यो आशिर्वादमा श्रमजीवीका पक्षमा न कुरा उठाईएको छ , न यसमा उल्लेखित नामहरु रगत र पसिना घोटेर श्रम गर्ने श्रमजीवी बर्गका नै छन् । यसखाले आशिर्वादले केवल सामन्ती पुरुषहरुको मात्र गुनगान गाएको छ । केवल दरबारका गिनेचुनेका मानिसहरुलाई महान बनाउँदै उनीहरु जस्तो बन्न सिकाएको छ यस आशिर्वादले । अझ सामन्ती दरबार भित्रकै भए पनि यस मन्त्रमा महिलाको कुनै प्रसंग छैन किनकी यो मन्त्र त पुरुष मानसिकता बोकेका कथित धार्मिक गुरुहरुले नै बनाएका हुन् । कुन्तिको प्रसंग उठाए पनि कुन्तिको ढाँट पुत्र अर्थात पुरुषलाई नै सत्यवादी बनाएर प्रस्तुत गरिएको छ । अश्वस्थामा भन्ने हात्ति मारेर द्रोणलाई छल्ने मान्छे युधिष्ठिर नै हैन ? जुवामा भाईहरु दाऊ थापेर हार्ने अनि पछि पत्नी द्रौपदी नै दाऊ थाप्ने कुपुत्र पनि युधिष्ठिर त हुन नि । आजको जमानामा कथाका पात्रलाई आधार बनाएर आशिष दिने हैन बरु यहि धर्तीका सपुतहरुलाई पो आधार बनाएर आशिष दिनुपर्ने हो कि ! आइन्स्टाईन्ट जस्तो चिन्तक बन, एडिसन जस्तो बैज्ञानिक बन, माक्र्स जस्तो दार्शनिक बन, देवकोटा र पारिजात जस्तो बन भन्ने आशिष दिने हो भने बल्ल साना केटाकेटीहरुको मस्तिष्कमा पनि ती महान सपुतहरुको खोजी गर्ने र बुझ्ने शैली विकास हुन्थ्यो । परम्परा धान्ने नाममा मानिसलाई भाग्यवादी बनाउँने र सामन्ती राजा महाराजाहरुको कथित बीरताको कथालाई महान बनाईदिने कार्य गर्न हामीले छाड्नै पर्छ । आशिष दिंदा रातो अक्षता नै लगाउँनुपर्छ भन्ने छैन । आफूलाई जे गर्दा सहज हुन्छ त्यहि गर्नु नै बैज्ञानिक ठहरिन्छ । कसैले टीका नलगाई केवल भेटघाट गरेरै दशैं मनाउँछ भने पनि उसलाई कुनै किसिमको दबाब दिन हुँदैन । दशैं र बलीप्रथा एउटा पशु वा पंक्षीको हत्या गरेर उसको रगतसंग हात चोपल्दै खुसियाली मनाउँनु सामान्य व्यवहार हैन । दशैं भनेर यदि हामी यसलाई शान्ति र सुखको पर्वकोे रुपमा लिन्छौ भने मिठाई, फलफूल खाएर पनि रमाईलो गर्न सकिन्छ । भौतिकवादी हुनु भनेको यस जगतका जीवजन्तुलाई निर्मम भएर मार्नु हैन । दशैंमा जुन घरमा खसी बोका, हाँस, कुखुराको बली दिईंदैन त्यो घरमा देवी खुसी हुन्नन् वा त्यो घरमा धार्मिक रुपले शुभ हँुदैन भन्ने प्रसंग मासु हसुर्ने कथित चाहनालाई पूरा गर्ने धार्मिक गुरुहरुको नियोजित चाल हो । दशैंका नाममा प्रत्येक घरमा दिईने बलीले मानिसहरुलाई हिंस्रक बन्न उक्साएको छ । जुन मानिसले जति बढी मार हान्न सक्यो ऊ त्यति नै धार्मिक हुने भन्ने संस्कारले समाजलाई रगतप्रति संबेदनहिन बन्न र काटमार गर्ने काममा आम मानिसहरुलाई समेत सहज महशुस गर्न सक्ने बनाउँन तर्फ प्रेरित गर्दछ । यो एउटा व्यवहारजन्य मनोविज्ञानसंग सम्बन्धित कुरा हो । आजकल विकशित भनिने देशहरुमा मानव अधिकारवादीहरु जस्तै पशु अधिकारका कुराहरु उठाउँन थालिएको छ । त्यस्तै सार्वजनिक स्थलमा काटमार गर्ने प्रचलनले मानिसहरुलाई धेरै खाले मनोबैज्ञानिक असरहरु पनि पार्नसक्छन् । तसर्थ काटमार गर्ने नै हो भने सर्वसाधारणले हेर्न चाहे भने मात्र हेर्न सक्ने बधशाला बनाउँनुपर्छ । अझ अहिले त बिज्ञानले पनि मांसाहार भन्दा शाकाहार बन्नु उपयुक्त हुने बताईरहेको छ । तसर्थ धर्मका नाममा पशु मार्नु गलत चिन्तन हो । अझ यस चराचर जगतको रक्षा गर्छु भन्ने कथित देवीदेवताहरु नै यहि चराचर जगतका पशुपंक्षिहरुको रगत पिएर खुसी हुन्छन भने यो त रक्तपिपाशु देवदेवी आतंक भएन र ! तसर्थ दशैंमा मारकाट गरे देवी प्रसन्न हुने भन्ने कुरा अरु केहि हैन माँसाहारीहरुले माँसाहार गर्न धर्मको जलप लगाएको मात्र हो । ऋषि चार्वाक आफ्नो यूगका एक भौतिकवादी चिन्तक थिए । उनले कतै यसरी उल्लेख गरेका छन – पशुस्च्यन्य हतः स्वर्ग ज्योतिस्टोमे गमिस्यति स्वपिताः जज मानेन तन्न कस्मान्न हिंसते अर्थात पशुको हत्या गरेमा ती स्वर्ग पुग्छन् भने आफ्नै पिताको किन हत्या नगर्ने ? दशैं र यसका केहि राम्रा पक्षहरु दशैंका केहि राम्रा र बैज्ञानिक पक्षहरु पनि रहेका छन् । त्यस्ता पक्षहरुलाई ध्यान दिनुपर्दछ । बर्षभरीको बिछोड पछि आफन्तहरुबीच भेटघाट गर्ने वातावरण बन्ने अवसर जोगियो भने कमसे कम व्यस्त जीवनबाट बर्षको एकपटक सबै मिल्ने अनि भावना र बिचारहरु साटासाट गर्ने बैज्ञानिक मान्यताको बिकास हुन्छ । हामीले देखेका छौं कि ठूला पुँजीवादी देशहरुमा केवल नाफा र पैसाका लागि मात्र जीवन बनेको छ । त्यहाँ न त सामाजिक सम्बन्ध बलियो छ न पारिवारिक सम्बन्ध नै । पुँजीवादमा मानिस पूरै यान्त्रिक बन्छ तसर्थ थोरै सामाजिक सम्बन्धलाई कायम राख्न पनि बर्षको एकपटक भेटघाट गर्ने अवसर बन्नु पर्छ । यस अर्थमा दशैं चलिआएको प्रचलनलाई प्रगतिशील रुपले रुपान्तरण गर्दै मनाईने पर्व बन्न सक्छ । न धेरै जाडो न धेरै गर्मी हुने वातावरणसंगै दशैंलाई मनाउँन सकिन्छ । त्यस्तै विभिन्न जातिहरुका मानिसहरुले पनि आ–आफ्नो पर्वहरुलाई आफन्तहरुसंगको भेट र बिचार आदानप्रदानको अवसरका रुपमा त्यस पर्वमा रहेका अन्धविश्वास, रुढिवाद, भाग्यवादी र सामन्ती चिन्तनलाई परित्याग गरी बैज्ञानिक बनाउँदै मनाउँनु पर्छ । सबै जातिका संस्कृति र पर्वहरुलाई रुपान्तरण गरी सबैले मनाउँने वातावरण बनाउँनु पर्छ । दशैंमा आफूभन्दा बढी उमेरका सदस्यहरुले आशिर्वाद दिने चलनलाई बिज्ञानसम्मत परिमार्जन सहित समाजमा स्थापित गराउँन सकियो भने कमसे कम पहिलो पुस्तासँग दोस्रो पुस्ताले अन्तक्रिया गर्ने र सामाजिक जीवनलाई द्वन्द्वात्मक पाराले बुझ्ने अवसर पाउँछन् । दशैं र हाम्रा सामाजिक ब्यवहार दशैंका समयमा पुरुषहरु विहानदेखि बेलुकासम्म तास र जाँडमा मग्न रहेको समेत देख्न पाइन्छ । आफूलाई प्रगतिशील र माक्र्सवादी बताउँने कतिपय पुरुषहरुको ब्यवहार पनि उस्तै नै देख्छौं हामीहरु । तिनै कथित माक्र्सवादीहरुका श्रीमतीहरु भने दिनभर पाहुनाहरुका लागि खाना पकाउँन भान्सामै बसेर काम गरिरहेका हुन्छन् । यस्तो असमानताको सबैले विरोध गर्नु जरुरी भएको छ । आफूलाई कम्युनिष्ट भन्ने अनि दशैं मनाउँदा राम र दुर्गाको पूजा गर्ने, आफूलाई माक्र्सवादी भन्ने अनि “आयू द्रोण सूते .......” भनी आशिर्वाद फलाक्ने , आफूलाई प्रगतिवादी भन्ने तर घरमा श्रीमतीलाई पर्वभर भान्सामै कोच्याएर राख्ने । यी हुन दशैंका सन्दर्भमा आईपर्ने अबैज्ञानिक, अमाक्र्सवादी र सामन्ती कार्यशैलीहरु । तसर्थ हामीहरुले हाम्रो गाउँघरका कम्युनिष्ट भनाउँनेहरुले यस्तो कार्य गरेछन भने सँच्चा कम्युनिष्टहरुले उनीहरुको भण्डाफोर गर्नु पर्छ र प्रगतिशील संस्कृतिलाई आत्मसाथ गर्दै दशैंलाई जनताको घर दैलोमा मनाउँनु पर्छ । अझ दशैंलाई पर्वका रुपमा हैन सामन्तवादी संस्कृतिले थोपरेको दशाका रुपमा मनाइरहेका जनताहरुलाई सामन्ती देवी देवताहरुको गुनगान गाएर आफ्नो आर्थिक अवस्था कमजोर बनाउँन जरुरी छैन भनी प्रगतिशीलहरुले सम्झाउँनुपर्छ र सामन्ती राज्यसत्ता समाप्त गरेर समाजवादी ब्यवस्था ल्याएपछि मात्र गरीब, दास, मजदुर, किसानहरुले श्रमजीवी वर्गको विजयका रुपमा दशैं मनाउँन आग्रह गर्नुपर्छ । दशैं पर्व र माक्र्सवादी बिचार माक्र्सवादी बिचार राख्नेहरुले दशैं जस्तो पर्वलाई स्वीकार गर्न हुँदैन भनेको पनि देखिन्छ । द्वन्दात्मक भौतिकवादलाई मान्नेहरुले त एकता, संघर्ष र रुपान्तरणलाई मूल कुरा ठान्छन्, त्यसैले दशैं र यस्तै पर्वका सम्बन्धमा पनि एकता संघर्ष र रुपान्तरणकै ढंगबाट बुझ्नु पर्छ । जनताले मानेका पर्वलाई सम्मान पनि गर्ने तर त्यसमा रहेका आडम्बर,उपासना,ढोंगहरुका बिरुद्ध संघर्ष पनि गर्ने नीति लिनु पर्छ । तिहारमा देउसीभैलौ खेल्ने परम्परालाई रुपान्तरण गरी नेपालका माक्र्सवादीहरुले पनि खेल्ने गरेका छन् । जनताको एउटा तप्काले मनाउँदै आएको कुरालाई ठाडै नकार्ने कामले जनतासंग पूरै अलग रहने अवस्था आउँने गर्छ भने कथित पर्वलाई जस्ताको तस्तै मान्न खोज्दा यथास्थितिको पक्षधर वा धार्मिक अन्धबिश्वासको पक्षधर बन्न पुगिन्छ । त्यहि भएर सके दशैं जस्तो पर्वका बिकल्पमा जनताको बिजयको दिनलाई उत्सव बनाउँन तिर लाग्नु पर्छ । त्यसो गर्न नसकेको अवस्थामा चलेको चलनको भाष्य र शैली नै बदलेर जानु पर्छ । जनताले स्वीकारेका कुनै पनि पर्वहरुको विरुद्धमा उभिएर हिंड्नु गैह्र माक्र्सवादी शैली हो र यस्तो शैलीले माक्र्सवादभित्रको समाजशास्त्रीय पक्षको उपेक्षा गरेको ठहर्छ । निष्कर्ष दशैं वा त्यस्तै खाले पर्वहरुलाई मनाउँने प्रचलन पूर्णरुपले हटाउँदा मानव समाज यान्त्रिक, अव्यवहारिक, मनचिन्ते र ब्यक्तिवादी बन्नपुग्छ । यो यथार्थ सबैले मनन् गर्नुपर्छ । दशैं नै मात्र विकल्प पर्व हैन । मई १ को श्रमिक दिवसलाई प्रधान पर्व मान्ने र त्यो दिनका लागि सरकारले सबै श्रमिकहरुलाई दशैंमा झैं श्रमभत्ता भन्दै अतिरिक्त भत्ता दिने प्रचलन बन्यो भने त अझ राम्रो संदेश जान्थ्यो श्रमजीवीका पक्षमा । तर त्यसो हुन सकेन भने पनि समाजमा स्थापित भईसकेको दशैं र अरु जातिका संस्कृति र पर्वलाई सबै धर्म, भाषा, जातिले मान्नसक्ने बैज्ञानिक र भौतिकवादी ढंगबाट राज्यले बिकास गर्ने कार्यको थालनी गर्ने हो भने पनि धेरै उपलब्धिपूर्ण पक्ष बन्न सक्छ । त्यसैले ब्यक्तिहरु आफैंले दशैं मनाउँदा यी र यस्ता धेरै पक्षहरुको अध्ययन र बिचार सहित मनाउँनु उपयुक्त हुन्छ । यस पटकको दशैंलाई बैज्ञानिक र फजूल खर्च रहितको स्वस्थ, शान्त र हिंसारहित दशैंका रुपमा मनाउँन युवा युवतिहरुले संकल्प गर्ने हो कि !
प्रतिकृया लेख्नुहोस्: