००००००००००
भोलिपल्ट अफिसको नम्बरबाट बुबालाई फोन गरें । तर, सम्पर्क हुन सकेन । त्यसपछि दिनदिनैजसो लगातार फोन गरें, सम्पर्क हुन सकेन । मलाई नमज्जा लाग्यो । कतै ती बूढाबाले पो फोन गर्छन् कि भन्ने आसमा बसें । आएन उनको फोन पनि । एक दिन राति फोन गरें उनै बुबाका वकिललाई । उनीसँग आग्रह गरें बुबाको अर्को नम्बर भए दिन । जवाफ आयो– छैन । निरास भएँ म ।
सम्झें– छुट्ने बेला बुबाले ‘म अन्यायमा परें बाबु ! तपाईंले सक्नुहुन्छ भने मलाई सहयोग गर्नोस्, मेरो मर्ने बेलामा राम्रोसँग सास जान्छ’ भन्दै रुँदै बिदा भएका थिए । दुई हप्ता बितिसक्दा पनि तिनको घर–ठेगाना पत्ता लाउन सकिएन । उनका कान्छो भाइ कर्नेल हुन् भन्ने सुनेको थिएँ । मैले फेसबुक ‘सर्च’ गरें । बुबाको ‘रिलेसन’ पत्ता लगाएँ । ‘लोकेसन’ पत्ता लगाएँ । त्यसपछि खुसी भएँ म । केही गर्न नसके पनि उनको दुःखले भरिएको जीवन–संघर्षको कथा–व्यथा दुनियाँसामु जस्ताको तस्तै राख्छु । राज्यको निकायसम्म पुर्याउन सहयोग गर्छु । यही विचार गरें । पाँचखालमै मेरा साथी भएकाले उनैमार्फत बानियाँ गाउँबारे जानकारी लिएँ । ‘खावा’ मा बानियाँबस्ती रहेको पत्ता लगाएँ । बुढाको घरचाहिँ तामाघाट भएको पनि पत्तो पाएँ । शनिबार अफिस छुट्टी थियो । ११ बजेतिर कोटेश्वरबाट चढें अरनिको यातायात र लागें तामाघाट । अढाइ घन्टामा ओर्लिएँ । अत्याधिक गर्मी थियो । एकैछिन आराम गरेपछि स्थानीय बासिन्दालाई साधें बानियाँको घर । तामाघाटबाट काठमाडौंतर्फ एक किलो मिटर अगाडि पेटो«ल पम्पको मालिक बानियाँ भएको थाहा पाएँ र लागें त्यतैतिर । पेट्रोल पम्पमा पुगेर सोधें दिलबहादुर बानियाँको घर । थाहा भयोे माथि खावामा दिलबहादुको घर । गाडीमा आधा घन्टा लाग्छ भन्ने जानकारी पाएँ । म अवाक् भएँ । समय घर्किसकेको थियो । झन् आज पनि बुढालाई नभेट्टिने हो कि भन्ने चिन्ता थपियो । मनमनै निश्चय गरें– यत्रो बाटो आइसकेपछि दुई दिन लागे पनि नभेटी जान्नँ । ४ः३० बजेतिरको गाडी चढें । आधा घन्टापछि ओर्लिएँ खावा प्रहरी चौकीमा । छेउमै रहेका एक जुँगे बुढालाई सोधें दिलबहादुको घर । संयोग पनि कस्तो ! ती त परेछन् उनै दिलबहादुरका भाइ । बताइदिए उनैले । इच्छा पूरा भएकोमा खुसीले गद्गद् भएँ । अरनिको राजमार्ग, खावा प्रहरी चौकीदेखि उत्तर–पश्चिम, कच्ची सडक करिब सय मिटर ओरालो झरेपछि पुगें म दिलबहादुरको घर । सामान्य घर । सुन्तलाको बगैंचामुनि प्लास्टिको कुर्सीमा बसेर हातमा लौरो चलाउँदै थिए एक बृद्ध । टाउकामा पहेंलो रामनामी कपडा बाँधेका ती बृद्धलाई चिनिहालें मैले । शिष्टाचार व्यक्त गर्दै सोधें– ‘मलाई चिन्नुभयो त बुबा ?’ यसो नियाले मेरो अनुहार । अनि पल्टाए खल्तीबाट सानो डायरी । एकछिन टक्क अडिएर भने– ‘तपाईं अदालतमा भेटिएका गणेश पाण्डे ।’ म त छक्क परें, उनको स्मरणशक्ति देखेर । उनी हर्षित हुँदै छोरीलाई फोन गर्न थाले । म चाहिँ ससर्ती बुझ्दै थिएँ बुबाको मनोविज्ञान । लगभग साँझको ६ बजिसकेको थियो । काठमाडौं फर्कन हतार भएकाले कति पनि ढिलो नगरी बुबाको जीवनका दुःख–कष्ट, भोगाइ, सिकाइ, अनुभव तथा विगतका सामाजिक, आर्थिक तथा पारिवारिक समस्याबारे जिज्ञासा राखें । उनी सुनाउन थाले आफ्नो अनुभव । मै रेडर्करमा कैद गरें उनको जीवनकथालाई । [caption id=\"attachment_13544\" align=\"alignnone\" width=\"727\"] शिकारी बा को बँचेको घर जँहा उनि ओत लागेका छन् ।[/caption] राजा महेन्द्रको मनपर्ने शिकारी !‘मेरो बुबाका जम्मा पाँचवटा श्रीमती । म चाहिँ साहिँलीपट्टिको जेठो छोरो । काइँलीपट्टि तीन र कान्छीपट्टि एक गरी जम्मा पाँच भाइ छौंं । हामी तीन भाइ आर्मी, दुई भाइ खेतीकिसानी । कान्छो भाइ सेनामा कर्नेल, साहिँलो र म ‘रिटायर्ड आर्मी’ । मेरी आमाको म एक मात्र छोरो । म जन्मेको १८ महिनामै आमा स्वर्गेवास हुनुभयो । त्यसपछि मेरो जीवनमा कहिल्यै आएन सुख ।
मलाई बच्चैदेखि सेनामा भर्ती हुन मन थियो । काम पाइँने आसामा म काठमाडौं गएँ, सात सालतिर । त्यतिबेला व्यवस्था परिवर्तको आन्दोलन चलिरहेको थियो । म भगवतीबहालतिर घरबुनामा काम गर्थें । हातमा सिप थिएन । कपडा बुन्न सिकें । महिनावारी तलब दिँदैनथ्यो, भत्ता दिन्थ्यो । त्यसैले चल्थ्योे गुजारा । पछि प्रजातन्त्र आयो । म सेनामा भर्ती भएँ । त्यस बेला नागरिकताको चलन थिएन । १८ वर्ष पुगें भनेपछि सेनामा जान पाइन्थ्यो । मेरो रहर पनि सिपाही बन्ने नै थियो, पूरा भयो । सेनामा गएको दुई–तीन वर्षपछि मलाई लगियो सिकारीतर्फ ।’ उनी भन्दै गए– ‘म राजा महेन्द्रको मन पर्ने सिकारी । मेरो सिकारबाट राजा महेन्द्र खुसी हुन्थे । सिकारमा जाँदा राजा महेन्द्र मलाई नै लिएर जान्थे । राजा त्रिभुवनसँग दुई वर्ष मात्रै बसियो । तर, चिनजान भएन, उहाँको निधन भइहाल्यो । त्यसपछि छोरा महेन्द्रले शासन चलाए । हामी राजासँगै महेन्द्रनगर, कोशिटप्पु, चितवन, बर्दिया र काठमाडौंको शिवपुरीमा शिकार गर्न जान्थ्यौं । हामीलाई चित्तल, घोरल, मृग, जरायो मार्न आदेश थियो । मैले धेरै शिकार गरें तर मासु खाइनँ । राजाहरु बाघ, भालु, गैंडाको शिकार गर्थे । हामी पर बसेर हेथ्र्यौ । त्यो दिन अहिले सम्झँदा रमाइलो लाग्छ । म दरबारमा कहिल्यै हात थाप्दैनथें । एक दिन राजा महेन्द्रले मलाई बोलाएर भने– ‘तँ केही पनि माग्दैनस्, बक्सिस पनि लिँदैनस्, तँलाई चितवनको जग्गा बिर्ता दिन्छु, लि भन्नुभयो । तर, बाघ, हात्ती, गैंडाको डरले लिन मानिनँ । अहिलेजस्तो भए कहाँ छाड्थें र बाबु !’ अझ अगाडि भने– ‘म नौ सालतिर नारायणहिटीमा सरुवा भएँ । नारायणहिटी दरबारमा शिकारीको रुपमा धेरै वर्ष काम गरें । शिकारी भएको हुँदा धेरै बसाइ बाहिरै हुन्थ्यो । ब्यारेकमा बस्यो, शिकार गर्यो । देशका विभिन्न ठाउँबाट आएका साथीहरु हुन्थे । विभिन्न कुरा हुन्थे । कहिले दरबारका त कहिले घरबारका । दरबारियासँग नजिक भएकाले शिकारमा दरबारका सदस्यहरुसँग मात्रै घुम्न जान्थें । मेरो वीरेन्द्र, ज्ञानेन्द्र, धीरेन्द्रसँग राम्रै चिनजान थियो । ज्ञानेन्द्र त पछिसम्म पनि पाँचखाल आउँदा मलाई बोलाउँथे । तर, अहिले धेरै भयो आएका छैनन् । राजा वीरेन्द्रको वंशनास हुँदा म धेरै रोएँ । तेह्र दिनसम्म अलिनो खाएर उनलाई तर्पन दिएँ । मलाई विशेष शोख उडिरहेको चरा खसाल्नमा थियो । एक निशानीमा चरा फ्यार्रर्र भुइँमा खस्थ्यो । शिकारीमा १७ वर्ष नोकरी गरेर रिटायर भएँ ।’ नौ मोहोरमा १४ धार्नी मासु बाको कथा झनै चाखलाग्दो थियो– ‘अहिलेको जमानाभन्दा पहिलेको जमाना धेरै राम्रो थियो । खाना सस्तो थियो । अहिले त केही पनि छुन नसक्ने, अत्यासलाग्दो । हजारको नोटले केही आउँदैन । ओहोहोहो ! कतिसारो महँगो । सात सालतिर ६ पैसामा तीन पाउ मासु आउँथ्यो । बिहान किने ७ पैसा पथ्र्यो । एक पटक नौ मोहोरमा भेडा किनेको १४ धार्नी ७ पाउ मासु थियो । व्यवस्था पनि पहिलेकै ठीक थियो । अन्यायमा परे तुरुन्त न्याय पाइन्थ्यो । अहिले सबै बेथिति छ । न्याय छैन, रोजगारी छैन । उतिबेला साँवा अक्षर चिनेका अहिले एमए पास गरेकाभन्दा ठूलो विद्वान् हुन्थे । पढेलेखेकालाई घरघरमै लिन आउँथे । अहिलेको व्यवस्था देखेर दिक्क लाग्छ ।’ न्यायलयले सुनेन दुःख दुःखेसो पोख्दै बुढाले भने– ‘संघर्षको त कुरै नगरौं बाबु । सम्झिँदा भत्भती मन पोल्छ । मेरो दुई विवाह हो । पहिलो विवाह १८ बर्षमा बुवाले नै गर्दिनुभयो । स्वास्नी अधम थीई । एउटा छोरो पाई । घरमा आगो लगाई, कता गई कता...! शत्रु लागे, स्वास्नी–छोरालाई उचालेर मलाई सिध्याउन खोजे बाबु ! मैले सबै भाइलाई साक्षी राखी जेठीलाई अंशबन्डा गरिदिएँ । बण्डपत्र पास नगरीकनै भागी । छोरो चिठीपत्र केही पठाउँदैन । मरे–बाँचेको अत्तोपत्तो छैन । बुबाले नै २७ सालमा हाम्रो अंशबन्डा गर्नु भएको हो । २८ सालमा बुबा खस्नुभयो । ३२ सालमा अंशियारबीच मिलापत्र भयो । धेरै पछि अर्को विवाह गरें । अहिले घरमा छोरा–बुहारी, नाति–नातिना छन् । मेरो सहारा बुढी थिई । उसले पनि पोहोर साल छोडी । म टुहुरो भा’छु । मेरो सहारा भगवान् र लौरोबाहेक कोही छैन । १८ महिनामा आमाले साथ छाडिन्, ‘बालटुहुरो’ भएँ । अहिले बुढीले साथ छाडी ‘बृद्धटुहुरो भा’छु ।’ दाजुभाइतर्फ पनि थियो उनको गुनासो– ‘माइलो भाइले धोका दियो । मेरो भागमा परेको ७ रोपनी १४ आना जग्गा उसले थाहै नदिई जालसाँजीमा बेचिदियो । उसलाई जग्गा पास गर्न पटकपटक ताकेता गर्दा पनि मानेन । मेरो जग्गामा घर बनायो, रोक्का गर्न जिल्ला जान दिएन । भतिजो आउँछ– तँलाई सिध्याउँछु भन्छ । धेरै पटक नापी ल्याएँ । कीला उखेलेर फ्यालिदिन्छ । म कता जाऊँ बाबु ! सहारा कोही छैन । अचाक्ली नै भएपछि जग्गामा हकदावीसहित जिल्ला अदालतको ढोका ढक्ढक्याउन पुगें । चार वर्षपछि मुद्धा बदर गरिदियो । मलाई चित्त बुझेन, पुनरावेदन गएँ । उसले पनि जिल्लाकै सदर गरिदियो । मैले पैसा भएर मुद्धा लडेको होइन बाबु ! अन्याय भयो ।’ भन्दै गए उनी– ‘न्यायका लागि सर्वोच्च अदालत गएँ । उसले मुद्धै हेरेन, खारेज गरिदियो । अब म न्याय माग्न कता जाऊँ ? मलाई बाँच्न मन छैन । बाँकी सम्पत्ति छोरालाई दिएर कतै टाढा देवालयमा प्राण त्याग्न मन छ ।’ न्यायँलयसँग भन्नु बुबाको दुःख–काहानी सुन्दासुन्दै साँझको सात बजिसक्यो । फेरि भेट्ने वाचासहित बिदा भएँ त्यहाँबाट । छुट्ने बेला तरक्क आँशु काढे । तैपनि भाइ र फैसला सुनाउने न्यायालयप्रति कुनै शब्दबाँण प्रयोग गरेनन् । रोए मात्र... भित्रभित्रै कोप्पिएर रोए । आफैसँग रोए । अन्त्यमा आफ्नो दुःख–कहानी सम्बन्धित निकायसम्म पुर्याइदिन आग्रह गर्दै यति मात्रै भने–‘म विनम्र अनुरोध गर्छु, न्यायाधीश सुशीला कार्कीज्यू, एक पटक मुद्धामा पुनर्विचार गरिदिनोस् । पहिलाको मिसिल झिकाइयोस् । नक्सा झिकाइयोस् । म पूरै अन्यायमा छु । न्यायपरिषद्ले पनि बुझिदेओस् मेरो दुःख । मर्ने बेलामा शान्ति दिइयोस् मलाई ।’ यसो भन्छन् उनको मुद्धा हेर्ने वकिल २०७१–१२–१७ गते मंगलबार न्यायाधीश सुशीला कार्की र गाेविन्दनाथ उपाध्यायकाे ३ नं. बेन्चकाे संयुक्त इजलासले बुबाको एकतर्फी मुद्धा सर्वोच्चले खारेज गरिदियो । बुढाका वकिलले यसबारे भने– ‘हार्ने मुद्धा त होइन यो । कसरी यस्तो हुन पुग्यो ? हामी पनि आश्चर्यचकित भएका छौं । अदालतले हदम्याद गुजारेको कुरा गरेको छ । तर, अंश मुद्धामा हदम्याद नै हुँदैन । यस फैसलाले मिलापत्रलाई पनि अस्वीकार गरेको छ । चार किल्ला जुन छ, यस फैसलाले एउटै किल्लालाई आधार मानी विभिन्न किल्ला देखाएर दर्ता गर्न पाउने नजिर स्थापित गरेको छ ।’
प्रतिकृया लेख्नुहोस्: