‘अर्की आमा च्यापेर बुबा हराउनुभयो, त्यसैले स्कुल छाडेर होटेलमा भाँडा माझ्न थालें’
बैशाख ४ गते, २०७२ शुक्रवार 17th April, 2015 Fri१३:४४:५६ मा प्रकाशित
‘सुदूरपश्चिम महेन्द्रनगर धनगढी हो मेरो घर । नाम अजय बराल । धनगढीमै पाँच कक्षामा पढ्दापढ्दै बुबाले अर्की आमा ल्याउनुभयो । भारत पसेका बुबा फर्केर आउनुभएन । ममी घरधन्दामा व्यस्त । तीन दाजुभाइ सानै थियौं । घरका समस्या टार्न मुस्किल पर्दै गयो । बीचमै पढाइ छाडें । बुबाले फर्केर हेर्नुभएन, अर्की आमासँगै इन्डियामै हराउनुभयो । फोन गर्दा पनि उठाउनुहुन्न । खानलाई पनि मुक्किल । कहिल्यै खुशीयाली आएन हाम्रो घरमा । चाडपर्वले पनि हाम्रो मनमा उमङ्ग र खुशी भर्न सकेन । घर बस्न बोर लाग्यो । होटलमा भाँडा माझ्न थालें ।
नयाँ वर्षको पहिलो दिन । पुरानो वर्षलाई बिदाई गर्दै, नयाँ वर्षको स्वागतमा तल्लिन थिए मानिसहरु । सार्वजनिक बिदा भएकाले जागिरेलाई अफिसको चटारो थिएन । कामको तनाव थिएन । नयाँ सोच । नयाँ विचार । नयाँ रमझम । नयाँ योजना । नयाँ कार्यक्रम ।
मंगलबार परेकाले होला, युवायुवतीहरु बिहानैदेखि हातमा पूजाका थाली लिएर गणेश मन्दिरमा लामबद्ध देखिन्थे । फेसबुकको भित्तामा थरीथरीका रंगीन तस्बिर ‘अपलोड’ गर्न भ्याइनभ्याइ थियो प्रविधिमा पहुँच पुगेका तरुण–तन्नेरीहरुलाई । बसन्त ऋतुको भर्खर आगमन भएको छ । प्रकृति पनि पुराना पातलाई बिदाइ गर्दै नयाँ पालुवालालाई स्वागत गर्न व्यस्त छ । चराचुरुङ्गीलाई समेत बचेराका निम्ति आहाराको जोहो गर्न भ्याइनभ्याइ थियो । आहा ! साँच्चै रमाइलो थियो । नयाँ वर्षको पहिलो दिन, वसन्तको उभार ।
सहरी वातावरणमा छपक्कै छाएको थियो नयाँ वर्ष । चोकचोक, गल्लीगल्लीमा नयाँनयाँ कपडामा सजिएर रमाइलो गर्दै थिए मानिसहरु । कोही गाना बजानमा त कोही नयाँनयाँ ठाउँमा घुम्न व्यस्त थिए । चर्को घामको कुनै परबाह नगरी बाक्लिँदै थियो सहरी चहलपहल । राजधानीस्थित भृकुटीमण्डपमा आ–आफ्ना आमाबुबाको हात समातेर लाडिँदै बालउद्यतर्फ जान तम्सिँदै थिए बालबलिकाहरु । कोही रोटेपिङमा त कोही रेलगाडीमा मस्त थिए । एउटा फुच्चे ‘बाबा ! मलाई आइसक्रिम’ भन्दै थियो । गेटनजिकै एउटी फुच्ची ‘हवाइ पिलेन’ नकिन्दिएकोमा ठुस्स पर्दै थिई ।
यी र यस्तै दृश्यलाई आँखामा कैद गर्दै म यस पटकको नयाँ वर्ष बालमजदुरसँग बिताउने धुनमा यताउता बरालिँदै थिएँ । यसकै खोजीमा राजधानीका विभिन्न गल्ली–चोक चहार्न थालें । तर, भनेजस्तो भएन । गोंगबु, नयाँ बसपार्क, माछापोखरी, बालाजु... धेरै ठाउँ चहारें । नयाँ वर्ष भएर हो कि, गन्तव्य भेट्टाउन सकिएन । केही सिप नलागेपछि रविन्द्र भाइलाई कल गरें । अन्त्यमा हामी लगनखेल जाने निष्कर्षमा पुग्यौं ।
बालाजुबाट लगनखेलको गाडी चढ्यौं । लाग्यौं उतैतिर । ६ बजेतिर हामी ओर्लियौं लगनखेल बसपार्क । बसपार्कको पश्चिमतर्फ पीपलको रुखसहितको चौतारो । त्यसैको दक्षिणतर्फ सार्वजनिक स्थलमा ललितपुर उपनगरपालिकाको बोर्डमा लेखिएको थियो– ‘बालबालिकालाई श्रममा नलगाऔं, बाल श्रममुक्त नगर बनाऔं !’ त्यस बोर्डको ठीक उत्तर–पूर्वतर्फ एक होटलमा खाजाका निम्ति खचाखच थिए मानिहरु । किचेनमा बस्ने दाइहरु विभिन्न परिकार बनाउन व्यस्त थिए । आफ्ना ग्राहकलाई कुपन दिन चटारिँदै थिइन् होटल मालिक्नी । ग्राहकहरुको ओइरो थियो । कोही बस्ने ठाउँ नभएर पालोको पर्खाइमा थिए । त्यही भीडमा एउटा कलिलो भाइ असिनपसिन गर्दै हातभरि जुठा प्लेट बोकेर जाँदै थियो माझ्न ।
पक्क परेर हामी नियालिरहेका थियौं त्यहाँको गतिविधि । भीडको बीचमा अर्को भाइ टेबुल पुछ्न व्यस्त थियो । कोही ‘सर्भिस’ मा व्यस्त थिए । एकपछि अर्को गर्दै सिडी घुमेजस्तै गरी दिमागमा घुम्न थाल्यो अघिदेखिको दृश्य । भर्खरै मात्र देखेको थिएँ अर्काथरी बालबालिकाको अवस्था, नजिकैको भृकुटीमण्डपमा । एकै छिनपछि त्यही उमेरका बालबालिका यहाँ नयाँ वर्षमा दुनियाँका जुठा भाँडा मस्काइरहेका भेटिए, यसरी । मन कुँडियो, कलिला बाबु–नानीहरुबीच किन यस्तो विभेद ?
यी बालकको पनि त घर होला । परिवार होला । नयाँ वर्षमा आमाबुवासँग घुम्न जाने मन होला । होइन, यसबारे त बुझ्नै पर्यो । तर, तालमेल मिलाउने कसरी ? म योजना बुन्न थालें । भित्र भीड भएकाले हत्तपत्त पालो आउने संकेत थिएन । सोचें, भित्रै गएर बसिराख्नुपर्यो । ती भाइहरु सोध्न आउँछन्, त्यही मौकामा दुई जना मिलेर मालिक्नीलाई शंका नहुनेगरी एकपछि अर्को गर्दै प्रश्नहरु सोध्नुपर्यो । निष्कर्ष आउलाजस्तो भए खाजा थप गर्ने, नभए बाटो लाग्ने । यही निर्णयका साथ भाइलाई कुपन लिन पठाएँ । म चाहिँ अन्तिम ‘रो’ मा बस्ने ठाउँ खोजेजस्तै गरी सानो भाइको पर्खाइमा बसें ।
त्यत्तिकैमा निलो टिसर्ट लगाएको ११–१२ वर्षको भाइ आयो हामीछेउ । ‘हजुरलाई के सेवा गरौं दाइ ?’ प्रश्न तेर्सायो उसले । मायालाग्दो देखिन्थ्यो भाइको अनुहार । कलिलो, ओठ निचोरे दूध झर्लाजस्तो । शान्त स्वभावको, मिठो बोली । एक छिनसम्म उसको चेहरा हेरिरहें । उसको जवाफ दिनुभन्दा पहिले मैले चाहिँ सोधें– ‘तिम्रो घर कता हो भाइ ?’
उसले जवाफ दियो– ‘सूदुरपश्चिम, धनगढी ।’
‘कति भो काठमाडौं आ’को ?’
छोटो जवाफ दियो– ‘दुई वर्ष ।’
त्यसपछि लाग्यो ऊ आफ्नै काममा । उता मेरो भाइले चाहिँ कुपन लिइसकेको थियो । यता काम सफल होलाजस्तो लागेन । तैपनि होटलवाला भाइबारे थप जानकारी पाइने आसमा ढोकानजिकैको टेबुलमा बस्यौं । अघिदेखि मैले पछ्याएको भाइले नै दुई प्लेट चाउमिन ल्यायो । त्यही मौकामा हामीले पालैपालो प्रश्न गर्यौं । भाइ आफ्नी मालिक्निलाई हेर्दै डरमिश्रित भावमा छोटोमा जवाफ दिन्थ्यो ।
अहँ, मलाई चित्त बुझेन । एक मन त होटेल मालिक्निलाई नै भेटेर पाँच मिनेटको समया माग्नुपर्यो जस्तो लाग्यो । तर, अर्को मनले त्यसरी त काम सम्भव पनि नहुने र भइहाले पनि पूरा सूचना नपाइने निष्कर्ष निकाल्यो ।
यसै मेसोमा भाइ भने नजानिँदो किसिमले नजिकिँदै थियो । टेबुल सफा गर्ने बहानामा ऊ बेलाबेला हामीनजिक आउँथ्यो । ऊ आउनेबित्तिकै एकपछि अर्को प्रश्न तेर्साउँथ्यौं । भाइ पनि अरुले नसुन्नेगरी सुटुक्क जवाफ दिन्थ्यो । अलि हौसला बढ्दै गयो । समय लम्ब्याउने बहानामा हामीले दुईवटा चिसो मगायौं । म भने लुकीलुकी क्यामरामा कैद गर्न व्यस्त थिएँ उनकाे फोटो ।
त्यहाँ आउने ग्राहकहरुले शंका गर्दै थिए । भाइ र हामीबीचको हिमचिमबारे होटेल मालिक्निले शंका गरेजस्तो लाग्यो । हामीप्रति कड्के नजर लाउँदै थिइन् मालिक्नी । त्यसैबेला टेबुल सफा गर्न भाइ आइपुग्यो । भाइको चित्तबुझ्दो जवाफ नआइसकेकाले हामी अझै बहाना बनाउँदै थियौं । ऊ यति व्यस्त थियो कि एक छिन उभिने फुर्सद थिएन । नजिकै भएका बेला प्रश्न गरें ।
‘दिनरात यसरी काम गरिरहनु पर्दा दिक्क लाग्दैन भाइ ?’
उसले जवाफ दियो– ‘दिक्क मानेर के गर्नु दाइ ! काम नगरे खान पाइँदैन ।’
म भने उसको जीवनसंघर्षबारे धेरै कुरा जान्न इच्छुक थिएँ । तर, प्रतिकूल समयका कारण सम्भव भएन । भाइलाई पाँच मिनेट बाहिर आउन संकेत गरें । होटल मालिक्निको डरले ऊ बाहिर आउन मानेन ।
मैले पुनः प्रश्न गरें– ‘तिमीसँग मोबाल छ ?’
‘छ’ सासले मात्रै बोल्यो ऊ ।
‘नम्बर दिन सक्छौ ?’
‘सक्छु ।’
हामी बाहिरियौं । भित्ताको एउटा कुनामा सेप लागेर बस्यौं । मालिक्निको आँखा छल्दै भाइले मोबाइलै दियो हामीलाई । ऊ लुसुक्क भित्र पस्यो । मैले उसको मोबाइलबाट मेरोमा कल गरें । त्यसपछि भाइलाई धन्यवाद दिँदै ५० रुपयाँ हातमा राखिदिएर बिदा भयौं ।
कोठामा पुगेपछि राति साढे आठ बजेतिर भाइलाई कल गरें । त्यतिबेलासम्म पनि ऊ काममा व्यस्त थियो । दाइ म टेबुल मिलाउँदै छु । एकछिनमा म मिस कल गर्छु भन्दै फोन राख्यो । मचाहिँ मनभरि कुरा खेलाउन थालें ।
सुदूरबाट आएको सानो भाइ, कोसँग बस्छ होला ? हामी एकछिन काम गर्दा त थाकेर लखतरान हुन्छौं । ऊ दिनरात नभनी काममा जोतिन्छ । चाडपर्वको कुनै पर्बाह छैन । नयाँ वर्षको कुनै खुशीयाली छैन । यस्तै कुरा खेलाउँदै थिएँ मनमा । यत्तिकैमा भाइले कल गर्यो । राती नौ बजिसकेको थियो । उसको कल काटें, आफैंले कलब्याक गरें । ऊ खाना खाँदै छु भन्दै थियो । भन्दै गयो आफ्नो बालजीवनको कथा... ।
‘सुदूरपश्चिम महेन्द्रनगर धनगढी हो मेरो घर । नाम अजय बराल । धनगढीमै पाँच कक्षामा पढ्दापढ्दै बुबाले अर्की आमा ल्याउनुभयो । ठेक्कापट्टामा भारत पसेका बुबा फर्केर आउनुभएन । ममी घरधन्दामा व्यस्त हुनुहुन्छ । हामी तीन दाजुभाइ सानै थियौं । घरमा काम गर्ने कोही थिएन । सामन्य समस्या टार्न पनि मुस्कील पर्दै गयो । मैले बीचमै पढाइ छाडें । धनगढीतिरै गाडा चलाउन थालें । बुबाले फर्केर घरलाई हेर्नुभएन । अर्की आमासँगै इन्डियामै हराउनुभयो । फोन गर्दा पनि उठाउनुहुन्न । दिनभरि गाडामा काम गर्यो, खानलाई पनि मुक्किल । कहिल्यै खुशीयाली आएन हाम्रो घरआँगनमा । चाडपर्वले पनि हाम्रो मनमा उमङ्ग र खुशी भर्न सकेन । मलाई घर बस्न बोर लाग्यो । कामको खोजीमा भारत पसें । होटलमा भाँडा माझ्न थालें । साहुले सधैं किचकिच गर्ने । समयमा पैसा पनि दिँदैनथ्यो । दिए पनि भाका राखेर दिन्थ्यो । दुई वर्षपछि घर फर्कें ।\'
फाेनमै उनी भन्दै गए, म सुन्दै गएँ– \'एकदिन साथीहरुले काठमाडौं घुम्न जाऊँ भने । साथीहरुको लहैलहैमा राजधानी आएँ । आउने बेला कैलालीका एक दाइले नम्बर दिनुभएको थियो । हातमा कुनै सिप थिएन । इन्डियामा होटेलमा काम गरेकाले होटलमै काम पाइन्छ कि भन्ने अलिकति आशा थियो । ललितपुरमा साथीहरुकैमा बस्न थालें । दिनभरि त्यसै बस्न दिक्क लाग्थ्यो । घरको याद आइरहन्थ्यो । ममीलाई सम्झिन्थें । बुबालाई सम्झिन्थें । एक दिन बोर मान्दै नम्बर दिने दाइलाई फोन गरें । उनले ललितपुरको एभरेस्ट होटलमा काम लगाइदिनुभयो । सुरुसुरुमा धेरै गाह्रो । तर, काम गर्दै जाँदा सजिलो हुँदै गएको छ । होटलमा २२ जना स्टाफ छन् । मजस्ता तीन जना छन् । म लगनखेलमै साथीहरुसँग बस्छु । बिहान ६ बजेदेखि बेलुका साढे आठसम्म काम गर्नुपर्छ । गाह्रो छ दाइ, काम गर्न । तर, होटल मालिक्निले केही भन्नुहुन्न । खाना हामी होटलमै खान्छौं । अहिलेलाई तलब राम्रै छ । ग्राहकहरु धेरै आउँछन् । भाँडा माझ्नुपर्छ । टेबुल सफा गर्नुपर्छ । खाएका भाँडा उठाउनुपर्छ । एकछिन पनि फुर्सद हुँदैन दाइ । घरको समस्या छ । मलाई कतै जानै मन लाग्दैन । बेलाबेलामा घरमा ममीलाई खर्च पठाउँछु । कामको व्यस्तताले घर गइराख्न पनि पाइँदैन । पढ्न त इच्छा थियो, यस्तो अवस्थामा कसरी पढ्ने ? भाइहरु सानै छन् । बुबा घर फर्किएर आइदिए हुन्थ्यो जस्तो लाग्छ । तर, आउनुहुन्न ।’
भावविभोर हुँदै भाइले आमालाई सम्झँदै भन्यो– ‘म दाइको समाचारबाटै ममीलाई नयाँ वर्षको धेरैधेरै शुभकामना दिन चाहन्छु । ममी ! बाध्यताले औंशीमा पनि घर आउन पाइँन । मेरो कुनै चिन्ता नलिनू । बुबाले छाडे पनि मैले हजुरको साथ छाडेको छैन । बेलाबेलामा खर्च पठाइरहन्छु । कुनै दिन बिदा मिलाएर छिट्टै घर आउँछु ।’
आफ्ना जन्मदाता बुबालाई पनि सम्झेर भावुक हुँदै भाइले अझै अगाडि भन्यो– ‘हामीलाई चटक्कै छाडेरै गए पनि बुबालाई पनि नयाँ वर्षको शुभकामना दिन चाहन्छु । बुबा ! किन यतिविघ्न निष्ठुरी हुनुभएको ? मैले हजुरलाई कति कल गरें, उठाउनुभएन । आफ्ना स–साना बच्चाहरुलाई किन यसरी चटक्कै छाडेर जानुभयो ? किन कुनै वास्ता गर्नुभएन ? छाडेर गए पनि बुबा त बुबा नै हो । हजुर जहाँ भए पनि घर फर्किएर आइदिनोस् । बुबा ! हामी हजुरकै बाटो हेरेर बसेका छौं ।’
भाइलाई धन्यवाद दिँदै आज मलाई दिएजसरी नै अरु अपरिचित व्यक्तिहरुलाई चाहिँ आफ्नो फोन नम्बर नदिन सुझाव दिएँ मैले ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: