आषाढ़ २४ गते, २०७९ शुक्रवार 8th July, 2022 Fri१३:०५:१४ मा प्रकाशित
खबरडबली संवाददाता
काठमाडौँ । चितवन जिल्लाबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणसम्बन्धी हाल भइरहेका काम तत्कालका लागि रोकिएका छन् । सर्वोच्च अदालतले यही असार २१ गते लाइसेन्स वितरणसम्बन्धी प्रक्रियाका काम तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि सो सम्बन्धी काम रोकिएका हुन् ।
न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जारी गरेको उक्त आदेशमा भनिएको छ, “सवारी चालक प्रशिक्षण केन्द्र निर्देशिका, २०६४ को व्यवस्था अनुकूलसमेत देखिन नआएको र सार्वजनिक खरिद ऐन, २०६३ को दफा ९ र १० समेतको प्रतिकूल हुने देखिएकाले प्रस्तुत रिट निवेदनको अन्तिम किनार नलागेसम्म विपक्षी यातायात व्यवस्था सेवा कार्यालयद्वारा यस सम्बन्धमा जारी भएको मिति २०७९÷१÷२ र २०७९र ३÷१६ को सूचनालगायत काम कारबाही सोहीरुपमा तत्काल कार्यान्वयन नगर्नु, नगराउनु ।”
यातायात व्यवस्था सेवा कार्यालय भरतपुर चितवनसहित सार्वजनिक खरिद अनुगमन कार्यालय, ताहाचल काठमाडौँ, बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालय र बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई उक्त आदेश गरेसँगै सो प्रक्रिया अवरुद्ध भएको हो ।
चितवन ड्राइभिङ स्कुल प्रालीले यातायात व्यवस्था सेवा कार्यालय भरतपुर चितवनले मिति २०७९ वैशाख २ प्रकाशित गरेको ‘परामर्श सेवाको प्रस्ताव आह्वानसम्बन्धी सूचना’ र सोही कार्यालयको यही असार १६ गतेको ‘आर्थिक प्रस्ताव खोल्नेसम्बन्धी सूचना’का विरुद्धमा सो प्रालीले यही असार १९ गते सर्वोच्चमा रिट निवेदन दिएको थियो ।
सो कार्यालयले बिहीबार लाइसेन्सको प्रयोगात्मक परीक्षा हुने ‘सवारी चालक प्रशिक्षण केन्द्र’ निर्धारण गर्नेसम्बन्धी आर्थिक प्रस्ताव खोल्ने तयारीसमेत गरेको जनाइएको छ ।
कार्यालयले सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षाका लागि आवश्यकपर्ने परीक्षास्थल उपलब्ध गराउने परामर्श सेवाको प्रस्ताव आह्वान गर्दा राजमार्ग र विद्यालयबाट कम्तीमा २०० मिटर टाढा हुनुपर्नेलगायतका शर्त राखेर सूचना जारी गरेको थियो ।
सोही शर्तले गर्दा कार्यालयमा सर्वप्रथम दर्ता भएको र सरकारी मापदण्ड पूरा गरेको चितवन ड्राइभिङ स्कुल प्रालीले सो प्रक्रियामा भाग लिन नै नपाएको जनाइएको छ ।
सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा स्थल (छनोट तथा सञ्चालन) कार्यविधि २०७८ को प्रस्तावमा ‘प्रदेश सरकारअन्तर्गत रहेका यातायात व्यवस्था कार्यालयबाट लिइने सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षास्थल छनौट तथा सञ्चालनमा एकरुपकता कायम गर्दै परीक्षा प्रणालीलाई नवीनतम प्रविधिसँग आबद्धता गरी गुणस्तरीय प्रतिस्पर्धी व्यवस्थित, मर्यादित र सेवाग्राही मैत्री बनाउने’ भनिएको छ ।
सोही कार्यविधिको बँुदा न १० मा “प्रयोगात्मक परीक्षास्थलको दूरी र समय, सम्बन्धित कार्यालय र प्रयोगात्मक परीक्षास्थलबीचको दूरी र समय सन्दर्भमा कार्यालयले सूचना प्रकाशन गर्दा तोकिएबमोजिम हुनेछ”, भन्ने उल्लेख छ ।
चितवन ड्राइभिङ स्कुल प्रालीका सञ्चालकले भने, “कार्यालयबाट प्रयोगात्मक परीक्षास्थलको दूरी तोक्नुपर्ने कार्यविधिको बँुदा नं १० मा व्यवस्था हुँदा हुँदै पनि कार्यविधिविपरीत कुनै शिक्षण संस्थाबाट २०० मिटर तोकी हामीलाई प्रतिस्र्धामा भाग लिनबाट नै बञ्चित गरियो । प्रतिस्र्धामा भाग लिन पाऔँ भनी पटकपटक सम्बन्धित कार्यालय, मन्त्रालय र प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिँदा पनि सुनुवाइ नभएपछि बाध्य भएर अदालत जानुपरेको हो ।”
यातायात व्यवस्था सेवा कार्यालय भरतपुरले ऐन, नियम र निर्देशिका र कार्यविधिविपरीतका बुँदा समावेश गरी सरकारी मापदण्ड पुगेका ड्राइभिङ स्कुलहरुलाई भाग नै लिन नपाउने गरी सूचना प्रकाशन गरेको प्रालीले आरोपसमेत लगाएको छ । ती शर्त सवारी चालक प्रशिक्षण केन्द्र निर्देशिका २०७४ र सार्वजानिक खरिद ऐन २०६३ विपरीतसमेत भएको जनाइएको छ । सोही निर्देशिका अनुसार नै कार्यालयले मिति २०७९ वैशाख १४ गते चितवन ड्राइभिङ स्कुल प्रालीलाई सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालनका लागि स्वीकृति पत्र प्रदान गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: