Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

बुवा पहिले चराजस्तै, पछि गुँडजस्तै

सुदन किराती
सुदन किराती
अस्ति बुधबार बुवा बित्नुभएसँगै मेरो गुँड पनि भत्कियो । चराको आफ्नै नियम छ । चराले पुरानो गुँडको सम्भार गर्दैन । सृष्टिको लागि नयाँ गुँड निर्माण गर्दछ । चराबाट मान्छेले सिक्नुपर्ने एउटा पाठ यो पनि रहेछ । सपनाको संयोगले म त्रसित भएको छु । आमाको मृत्युअघि र बुवाको मृत्युअघि मैले देखेको सपनाको संयोगको प्रश्न मेरो मनमा घरी–घरी आइरहन्छ ।

आमाको मृत्यु अघिल्लो रात मलाई रातभरि निद्रा लागेन, असिनपसिन भइरहें । गर्मीले छट्पट्–छट्पट् भइरह्यो । उज्यालो हुने बेला बल्लतल्ल निदाएछु । कस्तो अचम्मको सपना देखेछु । सपना थियो– म खोलाको बगरमा हिंड्दै थिएँ । मेरो शरीरमा लुगा रहेनछ । एउटा बर्को जस्तो ओढेको थिएँ । कपाल रुमालले बाँधेको थिएँ । खाली खुट्टा घामले बेस्सरी पोल्दै थियो । सम्झें सपना प्रतिकात्मक रुपले दुरुस्तै कृयापुत्री अर्थात बरखी बारेको जस्तै थियो । आमा त्यही दिन बित्नुभयो ।

बुवा बित्नु केही दिन अगाडि पनि फेरि मैले त्यस्तै सपना देखें । त्यो रात पनि मलाई रातभरि निद्रा लागेन, असिनपसिन भइरहें । गर्मीले छट्पट्–छट्पट् भइरह्यो । म भोजपुरको टक्सार विमानस्थल टर्मिनल भवन शिलान्यासको लागि गएको थिएँ । त्यो रात यस्तो सपना देखें– म अस्पतालमा रहेछु । मेरो एउटा खुट्टा काट्ने अप्रेशनको तयारी गरेर डाक्टरहरू यताउति गरिरहेका रहेछन् । सपनामै मान्छे विपनाको तर्कना गरिरहन्छ । म विपनामा भए जस्तै त थिएँ । लौ जिन्दगीभर अब एउटा खुट्टाले कसरी पो हिंड्ने भनेर म बडो चिन्तित भएँ । झल्याँस्स बिउँझिएँ । हुन पनि हो, मेरो यात्राको एक खुट्टा जस्तै मेरो जीवनको मूल पिलर जस्तै बुवा हुनुहुन्थ्यो ।

यता बुवालाई आईसीयूमा सारेको भनेर सखारै फोन आयो । मलाई लाग्यो, ला ! अब के हुने हो ? आमा बित्नु अगाडिको समय र सपना, बुवा आईसीयूमा सारेपछिको सपनाको संयोग मिल्ने हो कि भनेर अगुल्टोले कुटिएको कुकुर बिजुली चम्किदा तर्सिएझैं घरी–घरी तर्सिरहेँ ।

घरबाट फोन आयो कि त्यसले मेरो सातो लिन्थ्यो, बुवालाई केही भइहाल्यो कि भनेर । म भोजपुरबाट रातारात काठमाडौं आएँ । आएको केही दिनपछि बुवा बितिहाल्नुभयो ।भन्छन्, सपना त सपनै हो । त्यो विपना हुनै सक्दैन । म त दार्शनिक रूपले भौतिकवादी हुँ । परमात्मा, ईश्वर र सपनामा विश्वास गर्दिनँ । खाली कर्ममाथि विश्वास गर्दछु । त्यो संयोग हो या मानिसको छैटौं इन्द्रीय हो ।

सपना के हो, म ठिक वैज्ञानिक निष्कर्षमा पुगेको छैन । मेरा लागि यो जिज्ञासाको विषय भने अवश्य भएको छ । धेरै मान्छे मर्दछु भन्ने लागेर होला जीवनको अन्तिम अवस्थामा आँसु झार्दछन् । यो सुन्दर संसार, यो सुन्दर पृथ्वी, यहाँका नातागोता छाडेर मान्छे मर्न चाहँदैन होला ! छाडेर जाँदा उसलाई पीडा हुन्छ होला र मान्छे जीवनभरिको सम्बन्ध छाड्न चाहँदैन र त तरक्क आँसुु झार्दछन् । बुवालाई भेट्न जब वीर अस्पतालको आईसीयूमा पुगें, उहाँले पनि मलाई देखेपछि आँसु झार्नुभयो ।

मलाई लाग्यो, बुवा मृत्यु चाहनुहुन्नथ्यो । र, दुई थोपा आँसु झारिरहनुभएको थियो । दुई आँखा बन्द गर्नुअघि झरेको अन्तिम दुई थोपाले धेरै कुरा बोले जस्तै लाग्यो ।

बुवालाई बचाउने सक्दो कोसिस त गरिरहेकै थिएँ । आफ्नो आँसु झार्नु भन्दा हेर्नु पीडा भयो । सायद बुवाले आफ्नो जीवन सिनेमाको रिल जस्तै सरर्र दिमागमा उतारेर शरीर छाड्दैछु भनेर आँसुले भनिरहनुभएको थियो ।

मेरो पनि बुवासँगका अविस्मरणीय क्षण सिनेमाको रिल झैं दिमागमा घुमिरहेको थियो । हामी दुवैको दिमागमा सिनेमा नै थिए, तर दृश्य फरक–फरक थिए । एक जनाको सिनेमा जीवनको थियो अर्कोको सिनेमा मृत्युको थियो । स्थिति झन् पीडादायक हुँदै थियो । बुवा उता रोइरहनुभएको थियो । म यता रोइरहेको थिएँ ।

बुवाले आँसु देख्नुहोला र झन् नरमाइलो होला भनेर म भने सकेसम्म आँसु छातीमै रोकिरहेको थिएँ । आँसु छातीमै रोक्दा टाउको दुख्दो रहेछ । म रुन नसकी टाउको दुखाउँदै थिएँ । डाक्टरले नाम बोलाउँदा पनि ‘ला बुवा रहनुभएन’ भन्ने भावले झस्किरहेको थिएँ ।

मेरो राष्ट्रिय जिम्मेवारी थियो । तर परिवारको कुराले झन् बढी पीडा हुँदोरहेछ । मनमा बुवाको दृश्य हिंडिरहेको थियो, तनमा राष्ट्रको काम । यस्तैमा वीर अस्पतालको शय्यामा भदौ ६ गते बिहान ४ः४१ मा बुवाले अन्तिम सास छाड्नुभयो । मसँगै छेउमै थिएँ । बुवा यहीं हुनुहुन्छ । बुवाको सास कहाँ गयो गयो, लापत्ता भयो । फेरि सपनाको संयोगले नराम्रोसँग तर्सायो ।

बुवाले मेरो बालखकालमा पटक–पटक भन्नुभएथ्यो, ‘म मरेपछि मलाई नगाड्नू, मलाई जलाउनू, बेलायतमा त लास एकै छिनमा मेसिनमा जलाउँछ, यहाँ त्यस्तो त छैन ।’

बुवाले भनेको समयमा इलेक्ट्रिक शवदाह बनेको थिएन । आज बुवा बित्दा संयोगले आफ्नै मन्त्रालय अन्तर्गत परेको पशुपतिकै इलेक्ट्रिक शवदाह गृहमा बुवाको अन्तिम दाहसंस्कार गरेर म फर्किएँ । शोकभित्रको संयोगले सन्तुष्ट पनि छु । बुवाको सपना साकार भयो ।

जब मान्छे हुँदैन, उसैलाई बढी सम्झन्छ मनले । घर आएँ । बुवाको बेड खाली थियो । पहिले, बुवा ऐया–ऐया भनेर कराउनुहुन्थ्यो । आज त्यही ऐया–ऐया सुन्दर संगीत झैं लाग्यो । आज त्यो सुन्न पाए पनि हुने थियो भनेर मेरो मनले भनिरह्यो । लाग्यो, घर पनि रित्तो भयो र मन पनि रित्तो भयो ।

बुवासँगका यादगार क्षणले झनै मन भक्कानिएर आयो र साथी आँसुलाई बनाएँ । दुवै आँखाका आँसु साथी भए । सम्झिरहें पुराना अतीत । सम्झें, बुवासँग एक यात्राको समय ।म सानै थिएँ । बाटो उकालो थियो । समय झिसमिसे साँझ, अँध्यारो अँध्यारो हुँदै जाँदै थियो ।

बाटोमा उकालो निस्कँदै गर्दा चौतारामा पुगियो । त्यहाँ पुग्दा बुवाले आफूले लगाएको कोट देखाउँदै सोध्नुभयो, ‘यो कोट मैले लन्डनबाट ल्याएको हुँ, यो कोट मलाई कति सुहाउँछ हेर् त छोरा ?’ मैले भनें, ‘आहा कस्तो राम्रो ! धेरै राम्रो देखिन्छ बुवा !’ उहाँले फेरि सोध्नुभयो, ‘म फलानोको बुवाभन्दा राम्रो देखिन्छु कि फलानोको बुवा राम्रो देखिन्छ ?’ मैले भनें, ‘हजुर तपाईं धेरै राम्रो, सुहाएको राम्रो पनि देखिन्छ ।’

हिंड्दै आउँदा साँझ झमक्क पर्दै गयो । बुवाले उकालो बाटोमा सम्झाउँदै भन्नुभयो । मैले उहाँको कुरा सुनिरहें, बुवा बोल्दै जानुभयो । भन्नुभयो, ‘बाबु ठूलो मान्छे बन्नु ।’ के गर्दा ठूलो मान्छे हुन्छ र कस्तोलाई ठूलो मान्छे भन्ने उहाँलाई अत्तोपत्तो थियो या थिएन, उहाँले ठूलो बन्नुपर्छ मात्र भन्नुभयो । बुवाले सपना त दिनुभयो, त्यसको जाने बाटो दिनुभएन । एक बाबु हुनुको नाताले सन्तानप्रतिको पवित्र अन्तरहृदयको आवाज थियो त्यो । अक्सर सबै बुवाहरू छोराछोरीलाई ठूलो भएको देख्न चाहन्छन् ।

हिंड्दै जाँदा उहाँले के सम्झनुभयो कुन्नि, एक्कासी भन्नुभयो, ‘पछि तँ यो बाटोमा हिंड्छस्, लेक—बेंसी गर्छस्, म त मरिजान्छु, मैले भनेको कुरा सम्झिन्छस् र ? तँ मेरो यादमा रुन्छस् होला ।’

उहाँले त्यसोभन्दा मैले मृत्युलाई नराम्रो गरी सम्झेको थिएँ । मेरो बुवाको लास कल्पनामा देखेकोे थिएँ । त्यतिबेला कल्पनाको लास थियो । आज मेरै अगाडि विपनाको लास थियो । त्यतिबेला कल्पनाले रुझेको थिएँ । आज विपनाले भिजायो ।

जब पशुपतिमा बुवाको सद्गत गरेर घर आएँ, मलाई लाग्यो– पहिले बुवा चरा जस्तै हुनुुहुन्थ्यो । पछि गुँड जस्तै हुनुभयो, यही अनुभूति फेसबुकमा पनि पोस्ट्याएँ । बुवाले आफ्नो पेन्सन थापेर फर्केको दिन सबै बच्चालाई नाना र खाना लिएर आउनुहुन्थ्यो । धरानबाट चार दिनको बाटो छिचोल्दै मासु, पाउरोटी, मसला बोकेर घर आउनुहुन्थ्यो । चराको गोजी नभए जस्तै बुवाको पनि पेन्सन थापेर फर्केपछि गोजी हुँदैनथ्यो । आमा भन्नुहुन्थ्यो, ‘सामान हैन पैसा ल्याउनुपर्दैन, यत्रो ऋण तिर्नुछ !’ ‘बाँचुन्जेल खाने हो मरे पछि के पत्तो ?’ बुवा भन्नुहुन्थ्यो ।

चराले चुच्चोमा च्यापेर बचेरालाई खुवाए झैं बुवाले हाम्रो लागि धरानदेखि खाना र नाना ल्याउनुहुन्थ्यो । माउ गुँडमा फर्किएपछि रमाएका चराका बचेरा जस्तै हामी बुवा घर फर्केपछि त्यसरी नै रमाउँथ्यौं । हाम्रो चाँचाँ–चुँचुँ नै उहाँको खुशी थियो ।

आमा बित्नुभएको केही वर्षदेखि बुवा थला पर्नुभयो । बुवा विस्तारै चराबाट गुँड भएर जानुभयो । बुवाले सिर्जना गरेको संसारमै हामी रमाइरहेथ्यौं । बुवाको ब्रिटिश आर्मीको पेन्सन आउँथ्यो । त्यसले नै हामी चरा झैं उडेर काठमाडौं आएर बस्यौं । बुवाको त्यो पेन्सन हाम्रो लागि घामपानी छल्ने एक आधार भयो ।

६ भदौ २०८० देखि त्यो गुँड पनि भत्कियो । चराको आफ्नै नियम छ । चराले पुरानो गुँडको मर्मतसम्भार गर्दैन । सृष्टिको लागि नयाँ गुँड निर्माण गर्दछ । चराबाट मान्छेले सिक्नुपर्ने एउटा पाठ यो पनि रहेछ । बुवासँग विछोडको त्यो दिन बिहानदेखि दिनभर बुवा चिरनिद्रामा सुतिरहेको झैं लाग्यो । हेरिरहनुभएको छ, मस्त सुतिरहनुभएको छ । हामी पनि त हरेक दिन यसरी नै सुतेर बिहान उठ्छाैं र कुनै दिन उठ्दैनौं ।

बुवाको वरिपरि सयौं मान्छे आउँदा पनि बुवा ब्युँझनुभएन । सुतिरहनुभएको बुवामाथि देशको सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सम्पूर्ण देशका मन्त्रीहरू र सयौंले श्रद्धाञ्जली व्यक्त गरिरहनुभएको थियो । मैले सानैमा बुवाले भनेको सम्झें । बुवाले भनेको ‘ठूलो मान्छे’ यस्तै होला । देशको प्रतिष्ठित मान्छेले बुवालाई खादा, माला र अबिर लगाइरहनुभएको थियो । यी सबै हुँदा पनि बुवा शान्तले सुत्नुभयो । तर, हामी भने अशान्त भइरह्यौं ।

‘मर्नुभन्दा बहुलाउनु निको’, मृत्युदेखि डराएर बनेको उखान हो । मान्छेलाई मृत्युभन्दा जीवन प्यारो हुन्छ । जीवन हुँदा धेरैलाई धेरै सहयोग गर्न सकिन्छ । मृत्युपछि त शोक र सम्झना मात्रै रहन्छ । जीवनका पलपलमा मृत्यु र जीवन सँगसँगै हिंडिरहेकै हुन्छ । ट्राफिक लाइटमा एकातिरबाट जाने र अर्कातिर रोकिने जस्तै हाम्रो जीवन पनि उसैगरी चलिरहेको हुन्छ । जब जीवनले रातो बत्ती देखाउँछ । मृत्यु हरियो बत्ती बाल्दै बेपत्ता बत्तिन्छ, कहिल्यै नभेटिने गरी ।

मृत्युको शोकले थप शोक हुनुहुन्न भन्नेमा म पूर्ण सचेत छु । मेरै गाउँको एक घटना सम्झन्छु । खेती किसानमा आधारित गाउँले जीवन । असारे मास, मानो खाएर मुरी उब्जाउने समय । खेतीपाती चकाचक चलिरहेको थियो । २२ जनाको परिवार भएको एक घरमा बाबुको मृत्यु भयो । एक त शोक, अर्काे समय अनुसार पौष्टिक आहार खान नपाउने ।

सामाजिक संस्कार अनुसार १३ दिन नुन बार्नैपर्ने, त्यसैले होला कमजोर बुहारीको नौ दिनमै मृत्यु भयो । जुठो बार्ने समय डबल भयो । असार घर्कियो । साउन परिवारको कमजोर शरीरले कामै गर्न सकेन । घरमा मान्छे मात्र घटेन, सारा खेतबारी बाँझो भयो । बालीनाली पनि घट्यो । मृत्युपछि मृत्यु खप्टिएर, शोकमा शोक खप्टिएर उनीहरू विलापमा बसे ।

वर्षेनि अन्न बेच्ने परिवार अर्काे वर्ष खानै नपुगेर बसाइँ सरे । सम्पन्न भरिलो परिवार एकै वर्षमा विपन्न फोस्रो भए । यो घटनाले पृथ्वीलाई त कति क्षति पार्यो थाहा भएन, गाउँ उजाड भयो, परिवार ध्वस्त भयो र गाउँलेको मन नै अमिलो भयो ।

मृत्युले एकछिन तर्साए पनि बाँच्नेहरू जीवनमा फर्कनै पर्दछ । यसले मेरो मनमा शोकलाई शक्ति र सिर्जनामा बदल्दै, शोकका दिन छोट्याउँदै मानव जीवनमा समर्पित गर्नुपर्दछ भन्ने गहिरो गरी छाप पारिरहेछ ।

भनिन्छ– विश्वमा एक मिनेटमा औसत १०४ जना र नेपालमा प्रत्येक तीन मिनेटमा एक जनाको मृत्यु हुन्छ । यति धेरै मृत्युमा लामो शोक मनाउने प्रचलनले सिर्जना, समय, शक्ति र सम्पत्तिको मृत्यु भएको छैन र ? मृत्यु जीवनको लागि हुनुपर्दछ । जिउनेलाई सजिलो बनाउने मृत्यु हो । मृत्युको फरक परिभाषा हुनुपर्दछ ।

मैले पनि मेरो बुवा बितेपछि धेरै दिन यो र यसो भनेर बिताउने विचार गरिनँ । मर्ने त मरेर गइगयो । बाँकी जीवन बाँच्नेको निम्ति हो भनेर म काममा आजैदेखि फर्कें ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारसँग ७ बुँदे सहमति, डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...

देवानगञ्ज घटनापछि मुख्यमन्त्री कार्कीको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending