Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

पूर्वप्रधानमन्त्री माधव नेपाललाई ९ अभियोग

\"Madhavकाठमाडौं । समकक्षी नेताहरूको तुलनामा पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समयका पक्का छन् । पार्टी र संगठनका लागि उनको सक्रियताको एमाले कार्यकर्ताले तारिफ नै गर्छन् । आन्तरिक तथा अन्य पार्टीबीच समन्वयकारी भूमिका खेल्न पनि सहज मानिन्छन् । तथापि, उनका केही कमिकमजोरीका बारेमा पनि कार्यकर्तामाझ उत्तिकै चर्चा र ठट्टा हुने गर्छ । तिनै अभियोगबारे नयाँ पत्रिकाका खगेन्द्र पन्तले नेता नेपाललाई नौ प्रश्न सोधेका छन् ः अभियोग–१ पार्टी र संगठनका लागि दिलोज्यानले खटिने तथा निरन्तर कार्यकर्ताको सम्पर्कमा रहने गरे पनि पनि माधव नेपालको चित्त धेरै सानो छ, आफ्नोबारेमा हुने स–साना आलोचना पनि सुन्न सक्दैनन् । मौका परे त्यस्ता कार्यकर्तालाई किनारा लगाउन पनि पछि पर्दैनन् भनिन्छ नि ? (हाँसो) सबैभन्दा उदार हृदयको त मै छु होला । तपाईंले भनेजस्तो मैले कसैलाई पनि पाखा लगाएको छैन । म धेरै कम रिसाउँछु । कहिलेकाहीँ भने धेरै रिसाउँछु । त्यस्तो अपवादमा मात्रै हुन्छ । त्यस्तो वेला मान्छे मेरो ऊ(चपेटा)मा पर्छ । तर, एकैछिनमा रिस सकिइहाल्छ । लामो समयसम्म मनमा जम्मा भएर बदला लिउँmजस्तो, त्यसलाई सिध्याऊँजस्तो मेरो मनमा रहँदैन । मेरो धारणा के रहन्छ भने मेरो मनमा नरहे पनि त्यो मान्छे पार्टीको घेराबाट बाहिर नजाओस् । बरु, अरू नेताले सञ्चालन गरून्, तर पार्टीको घेरामा रहनुपर्छ । म तपाईंलाई एउटा उदाहरण बताउँछु । पार्टी महासचिव हुँदा काठमाडौंको पार्टीभित्र ठूलो समस्या खडा भयो । केही कार्यकर्तालाई कामै नदिने, संगठन नै नगर्ने प्रवृत्ति देखियो स्थानीय नेतृत्वमा । अनि, उनीहरूमा निराशा आउने भयो । त्यसैले उनीहरूले अर्को फोरम बनाए । मनमोहन प्रतिष्ठानअन्तर्गतको जिल्ला कमिटी पनि बनेको थियो । म उनीहरूको पिकनिकमा गइदिएको थिएँ । यहाँको लोकल कमिटीका नेताहरूले मलाई भने, ‘होइन कमरेड, त्यहाँ त जानुभएन, त्यो त गुटबन्दी गर्ने थलो हो ।’ मैले उनीहरूलाई ‘हैट † केको गुटबन्दी गर्ने थलो हो ? तपाईंहरूले संगठन पनि नगर्ने, उनीहरूलाई एक ठाउँमा बस्न पनि नदिने रु’ भनेर उल्टै हप्काएँ । यो एउटा उदाहरण मात्रै भन्न खोजेको हुँ । यस्तो चिजमा मेरो स्पष्ट कुरा कुनै पनि कार्यकर्ता पार्टीको घेराबाट बाहिर नजाऊन् भन्ने हो । तर, एमालेकै हितमाथि कुठाराघात गर्छन् भने, नेपाली क्रान्तिका विरुद्ध कोही लाग्छ भने, नेपाल राष्ट्रकै विरुद्धमा लाग्छ भने त्यसमा त माया गर्नुहुन्न । तर, फेरि मसँग आएर कोही रोइहाल्यो भने मेरो मन छिटो पनि पग्लिन्छ । छिटो पग्लिने मेरो कमजोरीको पक्ष हो । अभियोग –२ एमाले कार्यकर्तामाझ नै वेलाबखत कुरा हुने गर्छ– केपी ओली र वामदेव गौतमसँग हिँड्दा भोकै बस्नुपर्दैन, मासुभात र रक्सीसमेत खान पाइन्छ । माधव नेपाल साह्रै लोभी छन्, उनको पछि लाग्दा उस्तै परे कालो चियासमेत खान पाइन्न । कत्तिको सत्यता छ यसमा ? लोभी त अब कसरी भन्नु ? कसैले मलाई कमाइ गरेर पनि दिएको छैन, दिने कुरा पनि भएन । तैपनि, मसँग जाँदा भोकै बस्नुपर्छ भन्ने कुरा सही छैन । किनभने, मसँग जाने सुरक्षाकर्मीदेखि कार्यकर्तासम्म गरेर ठूलै पंक्ति हुन्छ । भोकै त कोही बस्नुपरेको छैन । हो, एउटा कुरा म भोक भन्दा टाइमलाई महत्त्व दिन्छु । थालमा पस्किएको छ भने पनि टाइम भएपछि म भात नै छाडिदिन्छु, हिँडिदिन्छु । यो मेरो स्वभाव हो । म टाइमसँग कम्प्रोमाइज गर्न चाहन्नँ, सक्दिनँ । चिया, खाना, खाजा, निद्राभन्दा पनि काम महत्त्वपूर्ण कुरा हो । त्यसैमा मलाई हुटहुटी हुन्छ । अर्को कुरा, जाँडरक्सीको । त्यो त म मनै पराउँदिनँ । मेरो छेउमा कसैले खाएको पनि मन पराउन्नँ । चुरोट र गाँजा खाएको पनि मन पराउँदिनँ म । म सामान्य तरिकाले काम गर्नुपर्छ भन्ने मान्यता राख्छु । मैले त विनामासु पनि चुनावमा जिताइदिएको छु, एउटा उदाहरण सुनाउँछु तपाईंलाई । झापा गएको थिएँ, त्यहाँका कार्यकर्ताले मासुविना काम गर्न नसक्ने भनेका रहेछन् । कारण के रहेछ भने त्यहाँका नेताहरूले आफू मासु खाँदा रहेछन्, फिल्डमा खटिएका कार्यकर्तालाई ‘पार्टीको बजेट कम छ’ भनेर खुवाउँदा रहेनछन् । अनि मैले पहिला नेताहरूमा मासु बन्द गराएँ । त्यसपछि कार्यकर्ता खुसी भए, ताली बजाए र विनामासु काममा खटिए । चुनाव पनि जितियो । महत्त्वपूर्ण कुरा तपाईं कार्यकर्तालाई कस्तो विचार खुवाउँदै हुनुहुन्छ भन्ने हो । राम्रो विचार खुवाउँदै हुनुहुन्छ कि लोभ खुवाउँदै हुनुहुन्छ । बरु, जितिसकेपछि मासु खुवाउनुस्, मिठाई खुवाउनुस् जितको खुसीयालीमा । छ भने पहिल्यै पनि मासु खान सकिन्छ, तर आफू मात्रै होइन । यहाँ त एकदम आफ्नो स्वार्थका लागि लाग्ने प्रवृत्ति हाबी भयो, निस्स्वार्थ रूपमा काम नगर्ने प्रवृत्ति बढ्यो । यस्तो प्रवृत्तिलाई प्रोत्साहन दिएर कम्युनिस्ट पार्टी निर्माण हुन सक्दैन भनेर मैले भन्ने गरेको छु । जहाँसम्म म लोभी छु भन्ने छ, त्यो सत्य होइन । यी फोटा (भित्तामा झुन्डिएका फोटा देखाउँदै)हरू देख्दै हुनुहुन्छ नि, ती सबैलाई मैले पढाइरहेको छु, आफ्नो खर्चमा । कसैलाई महिनाको सात–साढे सात हजार दिन्छु, कसैलाई १० हजार दिन्छु । आज मात्रै एउटा केटा आएथ्यो, ‘इन्डियामा पढ्न जानुपर्ने भो, ६ लाख चाहिने भो ड्याडी’ भन्यो । मुसलमानको छोरो हो, मलाई ड्याडी भन्छ । चुनावमा मसँग लाग्दा उसको बाबुलाई खुमबहादुरको आदेशमा गोली हानेर मारिएको हो । उसका दुइटै छोरालाई मैले पढाइराखेको छु । अब ग्रयाजुएसन गर्छु, इन्डिया पठाइदिनुुस् भनेको छ । त्यस्तै, एउटा मुसलमान दम्पतीलाई गोली ठोकेर मारेको रहेछ । उनीहरूका १० जना छोराछोरी रहेछन् । हाम्रो पार्टीको मान्छे होइन, पत्रिकामा पढेपछि पहल गरेको हुँ । रौतहटमा फोन गरेर त्यहाँको सिडिओको कार्यालयमा सबै बच्चाहरूलाई लिएर आउन भनेँ । ती सबै बच्चामध्ये मैले तीनजनालाई सर्लाहीमा पढाउँदै छु । दुईवटा चितवनमा पढ्दै छन् । दुईवटा काठमाडौंमा पढ्दै छन् । हरेक चाडदेखि लुगाफाटो, किताब–कापी, एजुकेसन टुरसम्मको पैसा मैले व्यहोर्छु । त्यति मात्रै होइन, एउटा केटालाई त मैले पढाएर बिहेसमेत गराइदिएको छु । बिहेको जम्मै खर्च व्यहोरिदिएको छु । अब मैले एउटा फन्ड कलेक्सन गरिरहेको छु । त्यसमा मेरो प्राथमिकता छ मुस्लिम, दलित र बेहाल भएका बच्चाहरूलाई पढाउने छ । अभियोग–३ तपाईं आफू जाँडरक्सी, चुरोट, खैनी केही खानुहुन्न । अरू नेता–कार्यकर्ताले आफ्नो खर्चमा खाएको पनि देखिसहनुहुन्न । त्यस्ता नेता–कार्यकर्ताका लागि तानाशाहझैँ बन्नुहुन्छ । दुई–चार नेताले रक्सी–चुरोट खाएको ‘अपराध’मा तपाईंको खप्की खाइसकेका छन् । तपाईंको जाँडरक्सीविरोधी कामले एकपटक एमालेभित्र ठूलै हल्लीखल्लीसमेत भयो । पार्टीभित्र झगडा गर्न पाइने, तर मिलेर रक्सी–चुरोट खान नपाइने ? यो कस्तो अनुशासन हो ? मैले नेताहरूलाई हप्काएको मात्रै होइन, पार्टीभित्र जाँडरक्सीविरुद्धको अभियान नै चलाएको हुँ । त्यो अभियानको नाम के थियो थाहा छ ? शुसु अभियान । शुद्धीकरण र सुदृढीकरण अभियान । ०५२ सालमा अभियान चलाएपछि हाम्रो पार्टीभित्र एउटा पंक्ति पूरै असन्तुष्ट भयो । पार्टी फुट्ने बिन्दुमा पुग्नुको एउटा कारण त्यो पनि हो । त्यस्ता प्रवृत्तिलाई मैले ४२ वटा बुँदामा उल्लेख गरेको थिएँ । पार्टीभित्रकालाई मैले तीन क्याटागोरीमा बाँडेको थिएँ । पहिलो, वैचारिक क्षेत्रमा देखा परेका विकृति र विसंगतिहरू ः माक्र्सवादी दृष्टिकोण परित्याग गर्ने अराजक प्रवृत्ति । दोस्रो, पार्टीको संगठनात्मक क्षेत्रमा देखिएका विसंगतिहरू ः पदका लागि मरिहत्ते गर्ने, कामको जिम्मेवारीको कुरै नगर्नेलगायतका । तेस्रो, आचरणमा देखा परेका विकृतिहरू स् बानीव्यहोरा, आचरण, बोली–व्यवहार, शैली, खानपिन आदि । यी तीनवटा क्याटागोरीमा बाँडेर मैले ४२ वटा बुँदा अघि सारेर एक–एक बुँदामा क–कसमा के–के कमजोरी छन्, पार्टी कमिटीभित्र छलफलको विषय बनाएको थिएँ । यो अभियानले पार्टीभित्र हल्लीखल्ली नै भयो । तर, जाँडरक्सी खाने नेता–कार्यकर्ता स्वाट्टै घटे । रक्सी खाने र रक्सीले मातेर चुनौती दिनेहरू त लुके नै । पार्टीभित्र यतिसम्म जँड्याहा प्रवृत्ति हुर्किसक्याथ्यो कि रक्सी नखानेहरू काम नलाग्ने हुन थालिसकेका थिए, रक्सी खाने मान्छेहरूको बोलबाला बढ्दै गएको थियो । यो अभियान चलिसकेपछि भने रक्सी खानेहरू लुकेर हिँड्नुपर्ने भयो । नखानेहरू छाती फुकाएर हिँड्न थाले । त्यसले पार्टीमा सांस्कृतिक रूपान्तरणका निम्ति नयाँ जागरण पैदा गरेको थियो । मैले त्यसपछि पनि पटक–पटक फेरि त्यो अभियान सुरु गर्नुपर्छ भनेको छु, समय–समयमा । जसरी मान्छेले प्रत्येक दिन ब्रसले दाँत माझ्नुपर्छ, त्यसरी नै हाम्रो दिमागलाई, हाम्रो बानी व्यहोरालाई, हाम्रो स्वभावलाई सफासुग्घर बनाउनका लागि वैचारिक रूपमा हामीले आफूलाई पूरै पोख्त बनाउन सक्नुपर्छ । दिमागलाई माझ्नका लागि त्यस्ता अभियान आवश्यक हुन्छन् । अभियोग –४ एकथरी एमाले नेताहरू भन्छन्– माधव नेपालसँग बलियो गुट चलाउने कला छैन । बरु, अरू नेताहरूलाई भिडाएर तिनीहरूको पनि नेता बन्ने खुबी राख्छन् । त्यही खुबीले १५ वर्ष पार्टीको प्रमुख कार्यकारी भएर खाएका हुन् । पछिल्लो महाधिवेशनमा अरू नेताहरूले यो कुरा बुझे र माधव नेपाल पछारिए । यस्तै हो त ? हाम्रो पार्टीभित्र नेताहरूलाई लडाउनुपर्ने कुनै आवश्यकता नै परेन । किनभने, एमालेको नौ महिने सरकारको समयपछि मात्रै पार्टीभित्र मुद्दामा समस्या खडा भएको हो । महाकाली सन्धि पनि इस्यु लडाउने विषय थिएन, आफू–आफूमा अडान लिने कुरा मात्रै थियो । त्यसपछि पार्टी फुट्यो, त्यो लडाउने कुरा भएन । बरु, मैले फुटेर गएकालाई फिर्ता लिएर आएँ । पार्टीमा एकता गर्नका लागि भूमिका खेलेँ । साथ दिन्छु भन्नेले साथ दिएनन् बरु । तपाईंलाई थाहा छँदै छ, छैटौँ महाधिवेशनमा त्यही द्वन्द्व भइहाल्यो, मैले के लडाइँ लड्नुपर्‍यो र ? सातौँ महाधिवेशनमा लड्ने स्थिति अलि–अलि बन्न लाग्याथ्यो, नलडौँ भनेर फेरि सहमतिको स्थिति बन्यो । मैले त ‘लोकतान्त्रिक विधिबाटै जाऔँ’ भनेर भनेकै थिएँ । आठौँमा मैले कार्यकर्तामाझ जाऔँ भनेर भन्दाखेरि, वातावरण बनाउँदाखेरि परिस्थिति अर्कै भइसकेको थियो । पछि, नवौँमा बेग्लै स्थिति बन्यो । वास्तवमा मैले आफ्नो गुट भनेर सोचेको भए त पहिलेदेखि नै तयारी गर्ने थिएँ नि । किनकि, पार्टी चलाउने मान्छेले त सक्छ नि जमातलाई परिचालन गर्न । अभियोग – ५ माधव नेपाल पदको धेरै महत्त्वाकांक्षी छन्, १५ वर्ष कार्यकारी प्रमुख भएर पार्टी चलाइसक्दा पनि फेरि अध्यक्ष बन्ने इच्छा देखाए । प्रत्यक्ष निर्वाचनमा दुई–दुई क्षेत्रबाट पराजित हुँदा पनि मन्त्रिपरिषद्बाट मनोनीत भएर सभासद् बन्न गए, प्रधानमन्त्री बन्न दरबारमा निवेदनसमेत दिए । किन यति धेरै आशक्ति र? मेरो आत्मविश्वासले मलाई बल दिन्छ । नबिराउनु र नडराउनु भन्ने सिद्धान्तमा विश्वास गर्छु । त्यस्तो विश्वास मान्छेमा आउन तीन–चारवटा कुराबाट जोगिनुपर्छ । पहिलो, पैसा र भ्रष्टाचारबाट जोगिनुपर्छ । त्यसो भयो भने उसलाई कसैले केही गर्न सक्दैन । दोस्रो, तपाईं नैतिक रूपमा कमजोर हुनुभएन भने कसैले केही गर्न सक्दैन । तेस्रो, पदका लागि दश ठाउँमा हात पसार्दै हिँड्ने प्रवृत्तिबाट जोगिनुभयो भने तपाईंलाई कसैले हेप्न सक्दैन । चौथो, मृत्युसँग डराउनुभएन, मृत्युको भयले मान्छेलाई कमजोर बनाइदिन्छ । यी तीन–चारवटा कुरा भए तपाईंले कसैको चाकडी नै गर्नुपर्दैन । इन्डियाको चाकडी किन गर्ने रु कसैकोमा किन जाने रु म हक जताउँछु । तपाईंलाई बताऔँ कि मलाई राष्ट्रपतिमा जानका लागि हाम्रै पार्टीका मान्छेहरूले घेराबन्दी गरे । प्रचण्डले पटक–पटक आग्रह गरे । तर, धोका दिइसकेपछि मैले ‘यिनलाई पछार्नुपर्छ’ भन्ने झोकमा एक्लैले आँटेको हुँ । र, पछारिए पनि । राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा उनीहरूलाई हराउनुपर्छ भनेर मैले आँट गरेको हुँ, हाम्रा अरू साथीको आँट नै थिएन । संविधानसभामा म हारिसकेपछि मैले बताउनुपर्ने कुरै भएन । म कसैलाई हराउन गइनँ, तर मलाई हराउन आए । हारिसकेपछि मलाई गिरिजाप्रसाद कोइरालाले धेरैपटक अफर गर्नुभयो कि २६ जनाको मनोनयनमा तपाईं आउनुस् भनेर । मैले मानिनँ । प्रचण्ड प्रधानमन्त्री भएर आएपछि यहीँ मेरो घरमा आएर तीन घन्टा बसेर मलाई धेरै सम्झाउनुभयो । तर, मैले मान्दिनँ भनेँ, अस्वीकार गरेँ । त्यसपछि उनले अर्को प्रस्ताव गरे कि ‘बाई इलेक्सन’बाट आउनुस्, रोल्पाबाट उम्मेदवार बन्नुहोस् भनेर । मैले ‘तपाईंको मुठ्ठीमा बस्न रोल्पा जान्छु ?म रोल्पामा गएपछि त हाम्रो पार्टी संगठन कमजोर भएको ठहर्दैन ? एमाओवादीले जितायो भनेर मेरो त राजनीतिक हैसियत नै खतम हुन्छ’ भनेर अस्वीकार गरेको हुँ । जिउँदै हुनुहुन्छ प्रचण्डजी सोध्नुहोला । त्यसपछि हाम्रो पार्टीको केन्द्रीय कमिटीको बैठक बस्यो । दिनभरि बहस भयो, मैले मान्दै मानिनँ । पहिलो दिन चार बजे मैले हुन्न भन्दिएँ । मैले भनेँ, ‘म जान्नँ, च्याप्टर क्लोज । नो डिस्कसन एन्ड डिबेट ।’ झलनाथ खनाल अध्यक्ष हुनुहुन्थ्यो । उहाँले ‘दिस इज ब्लन्डर, मैले फरक मत दर्ज गराउँछु’ भनेर फरक मत दर्ज गराउनुभयो त्यो दिन । च्याप्टर क्लोज भइसक्याथ्यो । भोलिपल्ट फेरि प्रचण्डको चिठी आयो । फेरि बैठकमा दिनभरि सबै सिसिएमहरूले मलाई जानुपर्छ कि जानुपर्छ भन्न थाले । म ‘जान्नँ कि जान्नँ’ भनेर त्यहाँबाट उठेँ । हिँड्ने वेलामा तल आएर ईश्वर पोखरेलले ‘हेर्नुस्, म पनि यो हुँदैन भन्ने पक्षमा थिएँ, तर यो राष्ट्रिय आवश्यकता हो, प्रचण्डले चिठी नै पठाइसकेका छन्, अब यताउता नगर्नुस्’ भने । तैपनि, म सहमत नभएर ‘तपार्इंहरू आफ्नो ढंगले गर्नुस्’ भनेर हिँडेँ । निर्णय गरेको मलाई थाहा पनि थिएन । राति ८ बजे झलनाथ खनालले फोन गर्नुभो, ‘तपाईं किन आउनुभएन, यहाँ शपथ गर्नुपर्नेछ ।’ मैले ‘केको शपथग्रहण ?’ भनेको त ‘सुशीलचन्द्र अमात्यलाई फिर्ता बोलाएर सभासद्को शपथग्रहण’ भन्नुहुन्छ । मैले ‘सुशीलजीलाई फोन दिनुस्’ भनेँ । सुशीलजीलाई भनेँ ‘तपाईं किन राजीनामा दिने ? तपाईं किन हट्ने ? मेरा लागि हट्नु जरुरी छैन ।’ उहाँले ‘कमरेड अरूका निम्ति भए म हट्ने थिइनँ, तपाईंका लागि हाँसीहाँसी हट्न तयार छु । मेरो भन्दा पनि तपाईंको आवश्यकता धेरै छ’ भनेर उहाँले भनेपछि मात्रै म त्यहाँ गएको हुँ । हो कि होइन, अहिले पनि तपार्इं सुशीलजीलाई गएर सोध्नुहोला । त्यसपछि मात्रै उहाँको राजीनामा र मेरो शपथ भयो । र, भोलिपल्ट कि पर्सिपल्टै मलाई सभापति बनाए । ‘मलाई सभासद् वा सभापति बनाइदेऊ’ भनेर भित्रभित्रै गिरिजाप्रसादलाई, प्रचण्डलाई सोर्स लगाएर हिँड्ने मान्छे म होइन । म आफ्नो शिर निहुराउने काम कहिले पनि गर्दिनँ । जहाँसम्म प्रधानमन्त्रीको कुरा गर्नुहुन्छ । त्यो पनि मैले भित्रभित्रै गिरिजाबाबुलाई ‘ठाउँ खाली भा‘छ, मलाई पठाइदेऊ’ भनेर भन्या होइन । मैले चाहेको भए निहुँ खोज्न सक्थेँ, ०६३ को आन्दोलनको लगत्तै पछि म । किनभने, ०५८ साल कि कहिले हो सात दलको बैठकमा मलाई प्रधानमन्त्री बनाउने निर्णय भएको थियो । कुनै पनि सिफारिस गर्ने हो भने पार्टीहरूले मेरो नाम सिफारिस गरेर पठाउँथे । त्यही सिफारिसका आधारमा ज्ञानेन्द्रकहाँ दाबा गरेको पनि हो । गिरिजाबाबुले भन्नु भो कि, दाबा गर्नुस् । अनि दाबालाई नै मागपत्रका रूपमा ल्याइदिए । हामीले सोच्यौँ, ज्ञानेन्द्रको बुद्धि होला, दाबा गरौँ । तर, त्यसलाई मागपत्रसँग जोडियो । यद्यपि, त्यसमा प्रस्ट लेखिएको छ– दाबीपत्र भनेर । अनि, जनआन्दोलन सफल भएपछि मैले ‘गिरिजाबाबुको नाम राखौँ न’ भनेर सिफारिस गरेको छु । जबकि हकको कुरा गर्नुहुन्छ भने गिरिजाप्रसाद कोइरालाकै उपस्थितिमा मलाई प्रधानमन्त्रीका निम्ति त्योभन्दा पहिल्यै सात दलको बैठकमा निर्णय भएको थियो । तर, मैले गरिनँ । अभियोग –६ माधव नेपाल पार्टीअध्यक्षसमेत रहेका संसदीय दलका नेतालाई ‘माइनस’ गरेर प्रधानमन्त्री बने । बहुमत पुर्‍याउन उपेन्द्र यादवको पार्टीसमेत फुटाए भनिन्छ नि ? गिरिजाबाबुले पछि झलनाथजीको सामुन्ने नै ‘माधवबाबु अब तपाईं प्रधानमन्त्री बन्नुपर्छ’ भन्नुभएको हो । मलाई त बडो अप्ठ्यारो पर्‍यो, पार्टी अध्यक्ष जेएन त्यही हुनुहुन्छ के पो भन्ने ? त्यसपछि हाम्रो बैठकमा मलाई पठाउने भन्नेमा सर्वसम्मतिबाट कुरा आयो । तर, जेएनले मान्नुभएन । अर्थात्, ढिलासुस्ती गर्न थाल्नुभयो । ईश्वर पोखरेलले बिबिसीमा इन्टरभ्यु दिनुभयो कि ‘आजको बैठकमा माधव नेपाललाई ल्याउने कुरा भइसक्या छ’ भनेर । तैपनि, जेएन मलाई भन्नुहुन्न । अनि, त्यसपछि एउटा गोप्य ठाउँमा बैठक बस्यो । मलाई ‘तपाईं अरू पार्टीलाई मिलाउनुस् न’ भन्नुहुन्छ । म किन मिलाउँछु ? मेरो बारेमा निर्णय नभएसम्म म किन मिलाउँछु ? मिलाउँदिनँ । मैले ‘सबभन्दा पहिले सबैका सामुमा भन्नुस् यो कुरा’ भनेपछि पाँचजना नेता थिए कोठामा । सबैका बीचमा उहाँले ‘तपाईंले अब पहल गर्नुपर्‍यो । तपाईं नै प्रधानमन्त्रीमा जाने हो, आज हामी निर्णय गरिदिन्छौँ’ भन्नुभयो । मैले एकैचोटि फोन लिएँ, आठ–दशवटा पार्टीको एउटा ग्रुप बनाइदिएँ र भनेँ ‘ल जाऔँ संवाद गरौँ, बनाऔँ कागज ।’ मेरो त काम गर्ने तरिका नै अर्कै हुन्छ । एकै दिनमा मैले तीन सय एकको समर्थन लिई सक्याथेँ । खाली एउटा मात्रै समस्या थियो, विजय गच्छदारवाला अर्थात् उपेन्द्र यादववाला पार्टीको । उपेन्द्रवाला पार्टीले यताउता गर्नेबित्तिकै के हुन्छ भन्ने चिन्ता थियो । उसो त उपेन्द्रको पार्टी नभए पनि प्रधानमन्त्री हुने नै थिएँ म । टिक्ने कति दिन भन्ने मात्रै हुन्थ्यो । तर, त्यसवेलाको गोप्य दाउ त अर्कै रहेछ । मैले प्रशान्त झाको किताबमा पढेँ, उपेन्द्रको त बेग्लै दाउ रहेछ । मसँग ‘हुन्छ, एक हप्ताको टाइम दिनुस्, हामी त तपाईंलाई समर्थन गर्छौँ’ भन्दै समय लिँदै । समय लिँदै गरिसकेपछि सुशील कोइराला, महन्थ ठाकुर र राजेन्द्र महतो मकहाँ आए । उनीहरूले ‘अरू केही होइन, तपाईं एकचोटि विजय गच्छदारलाई प्रस्ताव गर्नुस् उपप्रधानमन्त्रीको अनि, पार्टी फुटाउनुस्’ भने । अभियोग –७ सन्तुलित नेता हुनुहुन्छ, पार्टीभित्र र बाहिरका दलहरूसँग राम्रो समन्वय गर्न सक्नुहुन्छ । तर, स्पष्ट भिजन र अडान राख्नुहुन्न । शाहीकालमा ‘प्रतिगमन आधा सच्चियो’ भन्दै सरकारमा जानुभयो । नवौँ महाधिवेशनमा एकथरीले ‘जबजलाई परिमार्जन गर्नुपर्छ’ भन्ने लबिङ गरे, अर्कोथरी ‘गर्नुहुन्न’ भन्ने अडानमा थिए । तपाईं प्रस्ट रूपमा केही पनि बोल्नुभएन । पहिलो कुरा, मूल कुरामा जानुस् । जब हाम्रो सरकार बन्यो र त्यसपछिको सरकारको बारेमा हाम्रो पार्टीमा केही विषयहरूमा फरक कुरा भयो । म यो फोहोरी खेलेर जानुहूँदैन भन्ने पक्षमा हुँ । हाम्रा केही साथीहरू फोहोरी गेममा लागे र म पनि लतारिनुपर्‍यो । एकदम रिसाएँ पनि पछि म । म कहाँ गा’थेँ, ल्याइसक्या रहेछ सबै डकुमेन्ट । आउँछु भन्दा त हाम्रो पार्टी कार्यालयमा राखिसक्या छ । चर्काचर्की पर्‍यो त्यसवेलामा मेरो । मूल कुरा त त्यो फोहोरी खेल खेल्नुपर्छ भन्ने पक्षमा म होइन । दोस्रो कुरा के थियो भने जतिवेला ज्ञानेन्द्रका बारेमा हाम्रो पार्टीको निर्णय छ पहल गर्ने । मैले गिरिजाबाबुलाई फोन गरेँ । उहाँले ‘पख्नुस्, पख्नुस्’ भनेर तीन दिनको समय खाइदिए । त्यसपछि मैले सूर्यबहादुर थापालाई बल्खुमा बोलाएर आफँै पहल गर्ने भनेपछि बल्ल गिरिजाबाबु सहमत भएका हुन् । त्यतिवेलासम्म हाम्रो दिमागमा ज्ञानेन्द्र त्यो तहमा जालान् भन्ने थिएन । अन्तिम समयसम्म पनि हाम्रो कुरा राजनीतिक पार्टीको सार्वभौमिकतालाई मान्छन् भने ‘हुन्छ’ भन्ने नै थियो । राजतन्त्र ढाल्ने पक्षमा हामी थिएनौँ । राजतन्त्रलाई ढाल्ने कुरामा कतिवेला पुग्यौँ भने जतिवेला हामीलाई गिरफ्तार गरियो । मेरो त यसपछाडिको व्यक्तिगत कारण पनि छ । जब ज्ञानेन्द्रले मलाई हेप्न थाल्यो नि त्यसपछि मैले सोचेको हो ‘यसलाई फाल्नुपर्छ’ भनेर । छोरोको छेउमा बसेर मलाई उसले ‘दिज पोलिटिकल लिडर्स आर पोलिटिकल एनिमल’ भन्यो । मैले त्यसपछि ज्ञानेन्द्रलाई २० मिनेट लेक्चर दिएँ ‘म को हुँ, कसको छोरा हुँ, कहाँबाट यहाँ आइपुगेको छु’ भनेर । यो सबै नारायणहिटी दरबारभित्रको कुरा हो । तपाईंहरूले पनि थाहा पाउनुपर्छ, ज्ञानेन्द्रलाई पनि स्मरण हुनुपर्छ । २० मिनेट मैले बोलेँ र त्यसपछि त्यहाँबाट हिँडिदिएँ । मैले चुनौती दिएको छु ज्ञानेन्द्रलाई । अर्को त्यो मेरो मात्रै कुरा होइन । प्रतिगमन आधा सच्चिएको निर्णय हुनुमा त भन्ने हो भने हाम्रो वामदेवजी हो प्रमुख व्यक्ति । उहाँ त झन् छिटो निर्णय गरिदिनुहुन्छ । ‘अँ सरकारमा जानुपर्छ’ भन्नु भो । अनि, सरकारमा गइसकेपछि त जिम्मा मैले लिनुपर्‍यो । तर, त्यतिवेला पनि मेरो फरक मत छ । त्यसमा मैले फरक मत नै दर्ज गर्‍या छु । बाहिर त छैन, कमिटीभित्र मेरो फरक मत दर्ज छ । साराको राय हुँदा पनि मैले ‘जानुहुँदैन, शेरबहादुरलाई विश्वास गर्न सकिँदैन, गयौँ भने बरु एउटा सर्त राख्नुपर्छ कि शेरबहादुरले सबैभन्दा पहिला यो संसद्को पुनर्बहाली गर्छन् कि गर्दैनन् रु’ भनेको छु । त्यस्तै, ‘शेरबहादुरले ज्ञानेन्द्रको होइन कि पार्टीहरूको सिफारिसमा प्रधानमन्त्री बन्ने कुरा मान्छन् कि मान्दैनन्’ भनेर भनेको छु । अभियोग – ८ मान्छेहरू भन्छन्– माधव नेपाल पार्टीका सीमित नेताको सानो समूह र पारिवारिक घेराबाट प्रभावित हुन्छन् । पदमा हुँदा त्यही सानो घेरा र समूहको कुरा सुन्छन् । र, त्यहीअनुसारको धारणा बनाएर निर्णय लिन्छन् । जसले उनलाई वेला–वेलामा विवादमा तान्छ । हाम्रो परिवारका मान्छे कसैले पनि राजनीतिक कुरामा त्यस्तो केही भन्दैन । त्यस्तो छँदा पनि छैन । म स्वविवेकले निर्णय गर्ने मान्छे हुँ । नपत्याए सोध्नुस् न रघुजी पन्तलाई, म प्रधानमन्त्री हुँदा उहाँ नै प्रमुख सल्लाहकार हुनुहुन्थ्यो । उहाँलाई मैले कैयौँपल्ट ‘हैट्, तपाईं सल्लाहकार मान्छे, यस्तो सल्लाह दिनुहुन्छ ?’ भनेर भनेको छु । अभियोग –९ माधव नेपाल पार्टीका लागि खटिन्छन्, समय व्यवस्थापन गर्दै देशभर दौडिन्छन्, हजारौँ जनतालाई सम्बोधन गर्छन् । तर, उनको भाषण मास तताउने हुँदैन, मास प्रभावित पार्ने पपुलर नेता पनि होइन । आरोप यो पनि छ । यो त ममा जे छ, त्यसैबाट हुने हो । थप निकालेर त निस्कन्न । मेरो भाषण कत्तिको राम्रो हुन्छ, हुँदैन । कतिको विषयवस्तुलाई मैले समेट्छु, समेट्दिनँ । कति क्याची हुन्छ, हुँदैन भन्ने कुरा त अरूले मूल्यांकन गर्ने कुरा हो । मेरो आफ्नै स्टाइल छ, अरूको आफ्नै स्टाइल हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE